
विराटनगर । सिन्धुलीको फिक्कल गाउँपालिका-२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट सुनकोसी नदीमा खसेको कारमा तीन जना यात्रु सवार रहेको खुलेको छ ।
प्रहरीका अनुसार कारमा सोही गाउँपालिका-५ बस्ने पूर्णबहादुर तामाङ, सोही जिल्लाको गोलन्जोर गाउँपालिका-१ बस्ने २८ वर्षीय गणेश थापा र वतन नखुलेका अर्का एक जना सवार थिए ।
कार दुर्घटनाको खबर पाएपछि खोजीकार्यको लागि विपद् व्यवस्थापन वेश खुर्कोटबाट गोताखोरसहितको टोली परिचालन भएको छ ।
खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको कारलाई काठमाडौंबाट ओखलढुंगातर्फ आउँदै गरेको बागमती प्रदेश ०८-००१०-०१४४ नम्बरको बसले ठक्कर दिएको खुलेको प्रहरीको भनाइ छ ।
बस चालक सिन्धुलीको फिक्कल गाउँपालिका-६ बस्ने २६ वर्षीय हेम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 













