सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । विद्यालयले केवल शैक्षिक ज्ञान मात्रै दिँदैन, व्यवहारिक ज्ञान र सीप समेत उपलब्ध गराउँछ । त्यति मात्रै नभएर ऐतिहासिक र लोपोन्मुख सामग्री समेत प्रत्यक्ष अवलोकन गराएर त्यसको महत्व विद्यार्थीलाई बुझाउँछन् ।

आवश्यक स्रोत-साधनको अभावमा सबै विद्यालयमा भनेजति सामग्री उपलब्ध नहुन सक्छन् । तर संखुवासभको तुम्लिङटार नगरपालिका-९ स्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयले ऐतिहासिक तथा लोपोन्मुख सामग्रीको सङ्ग्रहालय विद्यालयमै स्थापना गरेर विद्यार्थीहरूलाई थप व्यवहारिक ज्ञान सिकाइरहेको छ ।

विश्वकै सबैभन्दा होचो अरुण उपत्यका अर्थात समुन्द्री सतहबाट ४५७ मिटर उचाइमा अवस्थित रत्न अम्बिका मावि वि.सं. २०१६ सालमा स्थापना भएको हो । विद्यार्थीहरूलाई पुराना लोपोन्मुख सामग्रीको बारेमा जानकारी दिने उद्देश्यले सङ्ग्रहालय स्थापना गरिएको विद्यालयले जनाएको छ ।

विद्यालय परिसरमा रहेको सङ्ग्रहालयमा खेतीपातीमा प्रयोग हुने दाँदे, हलो, फाली, फ्याउरी, कोदाली, जुवा, हल्लुँडो र समाजुवा जस्ता अन्य सामाग्री राखिएका छन् । यस्तै गुन्द्री बन्न प्रयोग हुने तान, गुप्ते, ठेकी, मदानी, नेती, पोरा, उनीको झोला, लाल्टिन, पेट्रोम्याक्स, आइरन र ओदान पनि राखिएको छ ।

त्यसैगरी डेली स्प्रे, थुन्से, डालो, कुपी, पत्रे ठेकी, चुलेसी, फाली बिडा, काठको पिरा, महला तोक्मा, ढाकर, छत्री, भुने, घुम र माली लगायतका सामग्री सङ्ग्रहालयमा राखिएको विद्यालयका प्रधानाध्यापक कुवेर प्रसाद भेटुवालले बताए ।

विद्यालयको एउटा कोठामा सङ्ग्रह गरेर राखिएका पुरातात्विक सामग्री संखुवसभासहित अन्य जिल्लाबाट शैक्षिक अवलोकनमा आउने विद्यार्थीहरूका लागि पनि अवलोकनको केन्द्र बनेको छ ।

सङ्ग्रहालयमा दुर्लभ वस्तु, दस्तावेज र स्मृतिहरू संकलन गरी राखिएको छ । यस्तै तामाको पैसा, चलन चल्तीको पैसा, डोली पैसा, सिक्का र पुराना डिजिटल क्यामेरा, टेलीभिजन, क्यासेट र घडी पनि छन् ।

प्रधानाध्यापक भेटुवालका अनुसार विगतका पुस्ताको जीवनशैली, प्रविधि र समाजको विकासक्रमलाई विद्यार्थीहरूले नजिकबाट बुझ्न सकुन् र ज्ञान प्राप्त गरुन् भनेर सङ्ग्रहालय बनाइएको हो ।

सङ्ग्रहालयमा घरायसी प्रयोगका पुराना ग्रामोफोन, टेलिफोन, रेडियो, भाँडाकुँडा, काठ तथा माटोका सामग्री, कृषि औजार र दैनिक जीवनमा प्रयोग हुने वस्तु समावेश गरिँदा विद्यार्थीहरूले पुरानो परिवेशको बारेमा बुझ्ने मौका पाएका छन् ।

विद्यालयमा २०७३ सालदेखि माध्यमिक शिक्षामा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पठनपाठन सुरु भएको थियो । यस विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १ हजार ४४२ जना विद्यार्थी अध्ययनरत छन् ।

चुस्त व्यवस्थापन, रचनात्मक शैक्षिक गतिविधि, प्रभावकारी शिक्षण सिकाइ र अब्बल नतिजाका कारण यो विद्यालय प्रदेशको नमूना विद्यालयमा पर्न सफल भएको छ ।

तस्बिर : सन्तोष सुवेदी/संगालोखबर

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!