
विराटनगर । कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ । आक्रमणमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको निधन भएको हो ।
सन् २०२६ जुलाई ३० (२०८३ साउन १४ गते) मा भएको उक्त घटनाबारे कुवेतको परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई आधिकारिक जानकारी गराएको थियो ।
नेपाली राजदूतावासले मृतक तामाङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । दूतावासले तामाङको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल पठाउनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ ।
कुवेतमा विकसित संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ ।


संगालोखबर 













