
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा आइतबार राति दुई पक्षबीच भएको झडपमा गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।
विराटनगरको न्युरो अस्पतालमा उपचाररत २२ वर्षीय जयप्रकाश मेहताको आज दिउँसो करिब १ः२५ बजे मृत्यु भएको हो । जयप्रकाशको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको छ ।
जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । गत सोमबार उनको शल्यक्रिया भएपनि अवस्था गम्भीर थियो । मोरङ प्रहरीका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
कप्तागन्जमा दुई पक्षबीच भएको विवाद आइतबार राति हिंसात्मक झडपमा परिणत हुँदा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर देवानगन्ज-४ का २५ वर्षीय ओमप्रकाश मेहताको आइतबार राति नै मृत्यु भएको थियो । उनको शव पनि अस्पतालमै छ ।
उक्त घटनामा गोली लागेर १० जना युवा घाइते भएका थिए । अन्य आठ जना घाइतेको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घटनाको निष्पक्ष छानविनको माग गर्दै विभिन्न स्थानमा प्रदर्शन समेत भइरहेको छ ।

संगालोखबर 













