
धनकुटा । धनकुटामा नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ प्रतियोगिता आयोजना हुने भएको छ । बुधबार आयोजक रिक्रियसन मल्टिमिडिया एण्ड इनटरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालनका बारेमा जानकारी गराएको हो ।
२०७३ सालदेखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८०, २०८१ र २०८२ मा ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ प्रतियोगिता सम्पन्न भइसकेको छ । यस पटकदेखि नेशनल गट ट्यालेन्ट आयोजना गर्न लागिएको कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए ।
गायन र नृत्य विधामा हुने प्रतियोगिताको दुवै विधामा प्रथम हुनेले जनही ५ लाख रुपैयाँ नगदसहित सोही बराबरको जीवन बिमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय हुनेले क्रमशः १ लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा पाउने छन् ।
नेशनल गट ट्यालेन्टको पहिलो चरणको छनोट प्रतियोगिता साउन १६ गते खोटाङबाट सुरु भएर असोज ३ गते धनकुटामा हुने छ । प्रतियोगिताको पहिलो छनोट चरण काठमाडौं, पोखरा, ताप्लेजुङ, इलाम, बिर्तामोड, मोरङ, धरान, भोजपुर, ओखलढुंगा र तेह्रथुममा हुने आयोजकले जनाएको छ ।
त्यसैगरी सिन्धुली, बुटबल, फिदिम, दमक, इटहरी, संखुवासभा, खोटाङ, सोलुखुम्बु र धनकुटामा अडिसन हुने कार्यक्रम संयोजक योगीले जानकारी दिए । भारतको सिक्किममा समेत पहिलो चरणको अडिसन हुने जनाइएको छ । प्रतियोगिताको फाइनल अडिसन आगामी असोजमा धनकुटामा हुने छ ।
गायन र नृत्यतर्फ १३ वर्ष मुनिकालाई जुनियरतर्फ र १४ वर्ष माथिलाई सिनियरको रूपमा सहभागि गराइने आयोजकले जनाएको छ । नृत्यतर्फ भने १२ वर्षमुनि र १२ वर्षभन्दा माथि दुई उमेर समूहमा पुरस्कार वितरण गरिनेछ ।
दुवै समूहमा प्रथम हुनेले जनही दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । यस्तै मिस धनकुटाको अडिसन आगामी असोज ३ गतेबाट सुरु हुने छ ।
जसमा १६ देखि २७ वर्षका युवतीहरू सहभागी हुन पाउने छन् । प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँ, क्राउन तथा दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले नगद २० हजार रुपैयाँ नगदसहित अन्य पुरस्कार पाउने छन् ।
स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता मार्फत विशेषगरी ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरसम्म पुर्याउने लक्ष्य राखिएको कार्यक्रम संयोजक योगीले बताए ।
यसले पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउन पनि सहयोग गर्ने अपेक्षा आयोजकको छ ।

सन्तोष सुवेदी/संगालोखबर 













