
धनकुटा । धनकुटाबाट गाँजा तयार गर्ने फलामको हाइड्रोलिक प्रेस मेसिन प्रहरीले बरामद गरेको छ । सोमबार राति १० बजे साँगुरीगढी गाउँपालिका-३ स्थित ४० वर्षीय हर्क इवा भन्ने हर्क इवाहाङ लिम्बुको घरबाट प्रहरीले गाँजा तयार गर्ने मेसिन बरामद गरेको हो ।
मेसिन बरामद भएपनि हर्क फरार रहेका धनकुटा प्रहरीका प्रवक्ता डीएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनका अनुसार साउन ८ गते साँगुरीगढी गाउँपालिका-२ माङदुवा चेकजाँचका क्रममा शिखर लिम्बुले चलाएको को २ ह १२५ नम्बरको अटोबाट ७१ किलो ३५ ग्राम गाँजा बरामद भएको थियो ।
यस्तै मदन याखाले चलाएको प्र १-०४-००१ प ४७९१ नम्बरको मोटरसाइकलसहित प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरूमाथि जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको अवस्थामा हर्कसँग गाँजा तयार गर्ने मेसिन रहेको खुलेको थियो ।
सोही आधारमा हर्कको घरबाट गाँजा तयार गर्ने मेसिन बरामद गरिएको डीएसपी भण्डारीले जानकारी दिए । हर्क फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

संगालोखबर 

















