
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-३ कप्तानगन्जमा भएको घटनाको विरोधमा कोशी कटान क्षेत्र तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले उक्त क्षेत्रमा रहेका पसलमा लुटपाटसँगै तोडफोड र आगजनी गरेका छन् ।
उनीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेको छन् । प्रदर्शनकारीहरूले राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध गरेका हुन् ।
‘आगजनी भइरहेको छ । बाटो छेउका टहरामा तोडफोड भएको छ’, सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले संगालोखबरसँग भने, ‘भीडलाई नियन्त्रणमा लिएर अवस्था सामान्य बनाउने प्रयास भइरहेको छ ।’
आइतबार कप्तानगञ्जमा दुई समूहको झडप नियन्त्रणमा लिनका लागि प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका थिए । सोही घटनाको विरोधमा विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।
घटनापछि स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले सो स्थानको दक्षिण क्षेत्रका पाँच स्थानमा कफ्र्यु आदेश जारी गरेको भएको सोमबार दिनभर प्रदर्शन भएको थियो । सो क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आज पनि यथावत छ ।

संगालोखबर 

















