
सिराहा । सिराहाको लहानस्थित हस्पिटल चोकमा प्रहरीको गोली प्रहारपछि नियन्त्रणमा लिइएका ६ जनामध्ये दुई जना गम्भीर आपराधिक घटनामा संलग्न फरार अभियुक्त रहेको खुलेको छ ।
पक्राउ परेकामध्ये एक जना सुनसरीको झुम्का कारागारबाट फरार भएका कैदी हुन् भने अर्का व्यक्तिविरुद्ध ज्यान मार्ने उद्योगका दुई वटा मुद्दा दर्ता रहेका छन्।
लागूऔषध नियन्त्रण ब्यूरो, काठमाडौँको टोलीले बिहीबार दिउँसो लहानमा गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमध्ये सप्तरीको रुपनी गाउँपालिका–१ का ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २०८० साउन ३२ गते सप्तरी जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति हुन् ।
झुम्का कारागारमा कैद सजाय भोगिरहेका मियाँ २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। त्यसैगरी, पक्राउ परेका अर्का अभियुक्त सप्तरीको बोदेबर्साइन नगरपालिका–२ नेङ्गडा टोलका शम्भुप्रसाद यादव हुन् ।
उनीविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोनामा ज्यान मार्ने उद्योगका दुई वटा मुद्दा दर्ता रहेको सिराहा प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार यादवविरुद्ध २०७७ साउन १३ गते र २०८२ फागुन ५ गते ज्यान मार्ने उद्योगसम्बन्धी छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए र दुवै घटनापछि उनी लगातार फरार रहँदै आएका थिए।
यसै घटनामा प्रहरीले बोदेबर्साइन–२ का २४ वर्षीय बैजनाथप्रसाद यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय जमाहिर आलम, सोही ठाउँका ३२ वर्षीय मो. इमामुद्दिन तथा भारतको बिहार राज्यका २२ वर्षीय विद्यानन्द यादवलाई पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम लागूऔषध ब्राउन सुगर बरामद भएको र उनीहरू सबैलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

संगालोखबर 
















