
धनकुटा । जिल्ला हुलाक कार्यालय धनकुटाले १६६ जनालाई घरमै पुगेर राहदानी वितरण गरेको छ । हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत जिल्लाका सातवटै पालिकामा घर-घरमै पुगेर राहदानी वितरण गरिएको हो ।
नेपाल सरकारले सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य गर्दै अघि सारेको सेवा घरदैलोमै भन्ने नीतिअनुसार कार्यक्रम कार्यान्वयनमा ल्याइएको छ । जिल्ला हुलाक कार्यालय धनकुटाका प्रमुख रामकुमार श्रेष्ठले हुलाक सेवा विभागमार्फत सञ्चालन गरिएको ‘घरमै राहदानी वितरण सेवा’ अन्तर्गत सबै स्थानीय तहका नागरिकलाई आवश्यक सेवा दिइएको बताए ।
सात वटा स्थानीय तह रहेको धनकुटामा हालसम्म विभिन्न स्थानमा ८ पटकमा १ सय ६६ जनालाई घरमै राहदानी सेवा उपलब्ध गराइएको उनले जानकारी दिए । विशेषगरी वैदेशिक रोजगारी, अध्ययन तथा विभिन्न प्रयोजनका लागि राहदानी आवश्यक पर्ने नागरिकलाई जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ ।
‘घरमै राहदानी वितरण सेवा’ अन्तरगत गत बैशाख १४ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच घरमै राहदानी पुर्याउन सम्झौता भएको थियो । सोही सम्झौता अनुसार जेठ १ गतेबाट सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालय धनकुटाले जनाएको छ ।
हुलाकमार्फत घरमै राहदानी पुगेपछि सेवाग्राहीको समय र खर्च दुवै बचत भएको छ । यसअघि राहदानी लिनका लागि पुनः जिल्ला प्रशासन कार्यालय वा सम्बन्धित कार्यालय धाउनुपर्ने बाध्यता थियो ।
ग्रामीण भेगका नागरिकलाई लक्षित गर्दै सेवा थप प्रभावकारी बनाइने योजना रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।
सरकारले नागरिकको घरमै राहदानी र नागरिकता पुर्याउने योजना बनाए पनि नागरिकता भने सेवाग्राही आएर विवरण बुझाएको केही समयमै पाउने भएकाले हुलाकको प्रयोग गरिरहन नपरेको उनको भनाइ छ ।

संगालोखबर 

















