
रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा बाबुले छोराको हत्या गरेका छन् । घरायसी विवादका क्रममा ४५ वर्षीय बाबु सहसराम चौधरीले कान्छो छोरा २१ वर्षीय सरोज चौधरीको हत्या गरेका हुन् ।
बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका युवाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पताल लगिएको थियो ।
तर त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएकोमा बिहीबार साँझ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरुमा परिवारले घटना लुकाउन खोजेर सिँढीबाट लडेको बताएका थिए ।
बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो ।
तर घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गर्दा घटना दुर्घटना नभई घरायसी विवादका क्रममा चक्कु प्रहार गरेको खुलेको छ । घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

संगालोखबर 

















