संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । झापाको दमक नगरपालिका-४ संगम चोकमा कारले ठक्कर दिएको साइकल अनियन्त्रित भएर मोटरसाइकलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् ।

दुर्घटनामा परेर साइकलयात्री दमक नगरपालिका-३ का ५३ वर्षीय रनबहादुर विष्टको मृत्यु भएको हो । प्रहरीका अनुसार टाउको, दुवै हात र खुट्टामा चोट लागेर गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि आम्दा अस्पताल दमकमा भर्ना गरिएको थियो ।

Advertisement

त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति ९ बजे बिर्तामोडको बी एन्ड सी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा आज बिहान ४ बजेतिर विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक झापाको मेचीनगर नगरपालिका-८ का ४६ वर्षीय दुर्गाबहादुर बस्नेत घाइते भएका छन् । सामान्य अवस्थाका उनको आम्दा अस्पतालमै उपचार भइरहेको छ ।

प्रहरीका अनुसार आम्दाबाट ताराबारीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ५४८२ नम्बरको कारले सोहीतर्फ जाँदै गरेको साइकललाई बुधबार साँझ ठक्कर दिएको थियो । कारले ठक्कर दिएपछि अनियन्त्रित बनेको साइकल ताराबारी नै तर्फ जाँदै गरेको प्र १-०१-०१५ प १४४ नम्बरको मोटरसाइकलमा ठोक्किन पुग्यो ।

कार चालक मोरङको उर्लाबारी नगरपालिका-७ का ४० वर्षीय नेत्रप्रसाद तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ । कारको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!