
सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा सञ्चाललित ३५ वटा औषधि पसल सिलबन्दी गरिएको छ । अनुगमनका क्रममा विभिन्न कैफियत फेला परेपछि औषधि पसलहरूमा सिलबन्दी गरिएको हो ।
इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, औषधि व्यवस्था विभाग विराटनगर तथा सम्बन्धित वडा कार्यालयका प्रतिनिधिहरूको संयुक्त टोलीले असार अन्तिमदेखि प्रतिष्ठान परिसरका औषधि पसलहरूको अनुगमन गरेको थियो ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार सोमबारसम्म गरिएको अनुगमनका क्रममा ३५ वटा औषधि पसलमा विभिन्न कानुनी कमजोरी फेला परेको हो । अनुगमनका क्रममा आवश्यक कानुनी कागजात नभएको, अन्य व्यक्तिको नाममा सञ्चालन भएको, दर्तावाला फार्मासिस्ट अनुपस्थित रहेको तथा व्यवसाय नवीकरण नगरेको लगायतका कमजोरी फेला परेका थिए ।
अनुगमन टोली आउने जानकारी पाएपछि पसल बन्द गरी सम्पर्कविहीन भएका तथा अनुगमनमा असहयोग गरेका औषधि पसलमा पनि सिलबन्दीको गरिएको छ ।
सिलबन्दी गरिएका पसलका सञ्चालकलाई आवश्यक कागजातसहित सम्बन्धित निकायमा उपस्थित हुन निर्देशन दिइएको छ । कागजातको अध्ययनपछि प्रचलित कानुनबमोजिम थप कारबाही प्रक्रिया अघि बढाइने प्रशासनले जनाएको छ ।

संगालोखबर 



















