
धनकुटा । वर्षाका कारण आउन सक्ने सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार र आइतबार उच्च सतर्कता अपनाउन आग्रह गरेपछि प्रशासनले एक विज्ञप्ति जारी गर्दै रात्रिकालीन यातायातमा रोक लगाएको हो ।
प्रशासनका अनुसार अविरल वर्षाका कारण बाढी, पहिरो, कटान, गेग्रान बहाव तथा डुबानको जोखिम रहेकाले शनिबार बेलुका ७ बजेदेखि आइतबार बिहान ५ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
धनकुटाका मुख्य सडक खण्डहरू भेडेटार–रवि–राँके सडक र मुलघाटदेखि पाँचथरको सीमासम्मको तमोर करिडोरमा सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ । कोशी राजमार्गमा भने सडकको अवस्था हेरेर मात्र सवारी चल्न दिइने जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रशासकीय अधिकृत पुष्पलाल धमलाले जानकारी दिए ।
उनका अनुसार भेडेटारबाट तेह्रथुम, संखुवासभा, भोजपुर र पाँचथरतर्फ जाने सवारीसाधन सञ्चालनमा रोक लगाइएको भए पनि भेडेटारबाट धनकुटा सदरमुकामसम्म आउने सवारीमा भने रोक लगाइएको छैन ।
प्रशासनले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । विपद् प्रतिकार्यका लागि तीनै तहका सुरक्षा निकाय, स्थानीय तह तथा स्वयंसेवकहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ भने जोखिमयुक्त सडक खण्डहरूमा पहिरो पन्छाउन डोजर, एक्साभेटर र लोडर तैनाथ राखिएको छ ।
यसका साथै पहिरो तथा बाढीको जोखिममा रहेका बस्तीका नागरिकलाई आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण गर्न र खोला, नदी तथा खहरे आसपास बस्नेहरूलाई विशेष सतर्कता अपनाउन भनिएको छ । आकस्मिक अवस्था आइपरेमा तत्काल नेपाल प्रहरीको हटलाइन नम्बरमा सम्पर्क गर्न समेत प्रशासकीय अधिकृत धमलाले आग्रह गरे ।
प्राधिकरणका अनुसार शनिबार र आइतबार धनकुटासहित पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोरखा, लमजुङ, कास्की, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी र स्याङ्जा गरी २३ बढी जिल्लाहरू बाढी र पहिरोको उच्च जोखिममा छन् ।

सन्तोष सुवेदी/संगालोखबर 



















