संगालोखबर


विराटनगर । कोशी प्रदेशमा एचआईभी संक्रमितको उपचारका लागि एआरटी सेवामा आबद्ध बिरामीको संख्या २ हजार ६२३ पुगेको छ । तर संक्रमितको स्वास्थ्य अवस्थाको नियमित मूल्याङ्कन गर्न आवश्यक सीडी-४ परीक्षण सेवा सहज रूपमा उपलब्ध नहुँदा उपचार व्यवस्थापनमा चुनौती थपिएको छ ।

एएचएफ नेपालद्वारा विराटनगरमा आयोजित स्थानीय परियोजना सल्लाहकार समितिको बैठकमा प्रस्तुत तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर २७ हजार ५४ जनाले एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) सेवा लिइरहेका छन् ।

Advertisement

तीमध्ये सबैभन्दा बढी ७ हजार १०४ जना बागमती प्रदेशका छन् भने कोशी प्रदेश दोस्रो ठूलो भार बोकेको प्रदेशका रूपमा देखिएको छ । एएचएफ नेपालका एआरटी क्लिनिक अधिकृत केशव बस्नेतका अनुसार विराटनगरमा मात्रै २ सयबढी एचआईभी संक्रमित नियमित एआरटी सेवामा आबद्ध छन् ।

हाल कोशी अस्पतालस्थित एआरटी केन्द्रबाट ७ जना बालबालिका र ६५० जना वयस्क गरी ६५७ जनाले नियमित उपचार सेवा लिइरहेका बस्नेतले बताए ।

उनले कोशी अस्पतालको एआरटी केन्द्रमा कोशी प्रदेशका विभिन्न जिल्लासँगै मधेश प्रदेश, बागमती प्रदेश तथा भारतबाट समेत बिरामी उपचारका लागि आउने भएकाले सेवाग्राहीको चाप बढ्दै गएको जानकारी दिए ।

बस्नेतका अनुसार उपचार सुरु गरेपछि नियमित फलोअपमा नआउने बिरामीको संख्या पनि बढ्दो छ । ‘एक पटक एआरटी सेन्टरमा आएर उपचार सुरु गरेपछि अर्काे पटकदेखि नआउने समस्या बढ्दै गएको छ’, उनले भने, ‘यसले उपचारको प्रभावकारिता र संक्रमण नियन्त्रण दुवैमा असर पार्न सक्छ ।’

बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले कोशी प्रदेशभरि सीडी-४ परीक्षणमा देखिएको समस्या समाधानका लागि महानगरपालिकाले संघ र प्रदेश सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । आवश्यक परे महानगरकै स्रोतबाट बजेट विनियोजन गरेर पनि समस्या न्यूनीकरणका लागि पहल गरिने उनले बताए ।

एएचएफ नेपालले उपचारमा पहुँच बढाउन कोशी अस्पतालमार्फत १०२ पटक बिरामीलाई यातायात सहयोग, ७२ जनालाई खाद्य तथा पोषण सहयोग, ५६ जनालाई औषधि सहयोग तथा २९ जनालाई प्रयोगशाला परीक्षण सहयोग उपलब्ध गराएको जानकारी दिएको छ ।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख दिलीपकुमार यादवले महानगर क्षेत्रमा एचआईभी संक्रमितको संख्या बढ्दै गएको अवस्थामा एएचएफ नेपालले उपचार, जनचेतना र जनप्रतिनिधिसम्म सूचना प्रवाहमा महत्वपूर्ण सहयोग पुर्याएको बताए ।

बैठकमा सहभागीहरूले नेपाल-भारत सीमावर्ती नाकाबाट आउने व्यक्तिहरूको एचआईभी परीक्षणमा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!