सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेपाल सरकारले २०७५ सालमा ‘सय पर्यटकीय गन्तव्य’ को सूचीमा धनकुटाको नमस्ते झरना र पटेक डाँडालाई पनि समावेश गरेको थियो । तर प्राकृतिक विपत्ति र आवश्यक पूर्वाधार निर्माण नहुँदा पछिल्लो समय यी पर्यटकीय गन्तव्य सुनसान जस्तै बनेका छन् ।

नमस्ते झरना र पटेक डाँडा सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश भएपनि प्राकृतिक विपत्ति, अधुरा पूर्वाधार, बजेट अभाव लगायतका कारणले पछि परेका हुन् । यस्तै स्थानीय तहबीचको समन्वयकारी भूमिका र आवश्यक प्रचार-प्रसार नहुँदा पनि पछिल्लो समय यी स्थान सुनसान छन् ।

Advertisement

साँगुरीगढी गाउँपालिका-६ सिम्सुवामा पर्ने नमस्ते झरनालाई स्थापित तथा प्रवर्द्धन गरिनुपर्ने गन्तव्यमा सुचीकरण गरिएको थियो । त्यस पश्चात् झरनाको संरक्षण, पूर्वाधार विकास र पर्यटन प्रवर्द्धनमा विशेष प्राथमिकताको अपेक्षा थियो ।

चिसो पानीमा रमाउने, प्राकृतिक पोखरीमा पौडी खेल्ने तथा प्राकृतिक सौन्दर्यमा समय बिताउनेहरूका लागि नमस्ते झरना विशेष गन्तव्य हो । तर केही वर्षयता प्राकृतिक विपत्तिले क्षति पुऱ्याउँदा तथा संरचना जीर्ण हुँदा पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष असर परेको छ ।

कोशी राजमार्गदेखि सडक पहुँच भएकाले झरनामा दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेका थिए । झरनासँगै प्राकृतिक पोखरीमा पौडी खेल्ने आउनेहरूको भीडले होटल भरिभराउ हुन्थे । जसले राम्रो आर्थिक कारोबार समेत हुने गरेको थियो ।

गतवर्ष आएको बाढीले झरनासम्म पुग्ने सिँढी, पुल र पैदलमार्ग बगाएपछि अवस्था बिग्रिएको हो । अहिले अस्थायी रूपमा बाँस तथा काठबाट झरनासम्म पुग्ने संरचना बनाइएको छ । जसका कारण पर्यटकहरू जोखिम मोलेर झरना नपुगी फर्कनुपर्ने बाध्यकारी अवस्था आएको झरना व्यवस्थापन समितिका सचिव जीवन सुब्बाले बताए ।

अहिले बाटो सुरक्षित नभएकै कारण झरनामा आउँने पर्यटकहरूलाई रोक लगाइएको उनले जानकारी दिए । पर्यटकहरू आउन छाडेपछि स्थानीय होटल व्यवसायलाई पनि प्रत्यक्ष असर परेको छ ।

झरना आसपास करिब दुई दर्जन बढी होटल, चिया पसल तथा स्थानीय उत्पादन बिक्री गर्ने व्यवसायी छन् । पर्यटक घट्दा दैनिक आम्दानी ह्वात्तै घटेको झरना व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा होटल व्यवसायी दिलिप सुब्बाले बताए । झरनाको पुरानो साख फर्काउन अझ व्यवस्थित, सुरक्षित र आकर्षक पूर्वाधार निर्माण आवश्यकता रहेको उनले बताए ।

साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले झरनालाई सुरक्षित र दीर्घकालीन रूपमा संरक्षण गर्न विस्तृत योजना तयार भइरहेको बताए । यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि आधुनिक पूर्वाधार, सुरक्षाको व्यवस्था र व्यवस्थित व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ ।

गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ र कोशी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर क्षतिग्रस्त संरचनाको पुननिर्माण थालिएको थियो । तर ती संरचनाहरू अझै सम्पन्न हुन सकेका छैनन्  ।

पटेक डाँडा पनि सुनसान

यस्तै समुद्री सतहबाट करिब २ हजार ७ सय २ मिटर उचाइमा रहेको धनकुटाको सबैभन्दा अग्लो पटेक डाँडा सूर्योदय, हिमाल र पहाडी दृश्यावलोकनका लागि पूर्वी नेपालको उत्कृष्ट गन्तव्य हो ।

यहाँबाट मकालु, कञ्चनजङ्घा लगायतका विभिन्न हिमशृङ्खला, पहाडी चुचुरा र अरुण उपत्यकाको मनोरम दृश्य, आकर्षक सूर्योदय तथा कोशी प्रदेशका विभिन्न जिल्लाको भू-भाग अवलोकन गर्न सकिन्छ ।

यति धेरै सम्भावना हुँदाहुँदै पनि आधारभूत आवश्यक पूर्वाधार अझै अधुरै छन् । यहाँसम्म पुग्ने सिँढी निर्माण आधा मात्रै सम्पन्न भएको छ भने विश्रामस्थल, शौचालय, खानेपानी, लगायतका संरचना निर्माण हुन सकेका छैनन् । पटेक डाँडाको प्रचार–प्रसार नहुँदा पर्यटकको संख्या निकै कम भएको स्थानीय मुडु शेर्पाले बताए ।

धनकुटाको महालक्ष्मी नगरपालिका, छथर जोरपाटी गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका र लालीगुँरास नगरपालिकाको सिमानामा रहेको पटेक डाँडा चारवटा स्थानीय तहको साझा गन्तव्य हो । तर यसको प्रचार-प्रसारमा कसैले पनि चासो नदेखाएको स्थानीयको भनाइ छ ।

महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायले स्थानीय तहको सीमित बजेटले मात्रै यस्ता ठूला पर्यटकीय आयोजना सम्पन्न गर्न सम्भव नरहेको बताए । संघीय र प्रदेश सरकारले यी र यस्तै पर्यटकीय स्थललाई विशेष कार्यक्रममार्फत बजेट उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!