सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । संखुवासभाको तुम्लिङटारस्थित मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा प्राविधिक धार पढाई हुन थालेपछी विद्यार्थीलाई सहज भएको छ । गाउँमै कक्षा ९ देखी १२ सम्म प्राविधिक शिक्षा इन्जिनियरिङ पढ्न पाउँदा विद्यार्थीहरूलाई सहज भएको हो ।

वि.सं. २०१६ सालमा स्थापना भएको यस विद्यालयमा २०७३ सालदेखि प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ पढाई सुरु भएको थियो । प्राविधिक धारतर्फ हाल जम्मा १०३ जना विद्यार्थी अध्ययनरत छन् ।

Advertisement

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म १ हजार ४४२ जना विद्यार्थी अध्ययनरत छन् । अनेकौँ समस्या र चुनौतीका बावजुद पनि विद्यालयलाई उत्कृष्ट र नमूना बनाइएको विद्यालयका प्रधानाध्यापक कुविर प्रसाद भेटुवालले बताए ।

नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाई हुने यस विद्यालयमा एकैपटक ४६ वटा कक्षा सञ्चालन हुन्छन् । प्राविधिक धारतर्फ भने विद्यार्थीले सीमित रकम तिर्नुपर्ने प्रधानाध्यापक भेटुवालले बताए । पछिल्लो समय प्राविधिक धारतर्फ विद्यार्थीहरूको आकर्षण बढ्दै गएको उनको भनाइ छ ।

उनका अनुसार सुविधासम्पन्न ल्याबको उपलब्धता र व्यवस्थापन तथा प्रविधिको उच्चतम् प्रयोगका साथ पठन-पाठन हुँदै आएको छ । सामुदायिक विद्यालयमै सुलभ तरिकाले सिभिल इन्जिनियरिङ पढ्न पाउँदा सहज भएको कक्षा १० मा अध्ययनरत छात्रा लक्ष्मी सुनुवारले बताइन् । उनले विद्यालयले चाँडै रोजगारी पाउने अवसरको ढोका खोलिदिएको सुनाइन् ।

‘विद्यालयमा हामीले शिक्षासँगै प्राविधिक कुरा फिल्डमै गएर प्रयोगात्मक रूपमा सिकिरहेका छौँ’, उनले भनिन्, ‘जसले व्यावहारिक ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहज हुन्छ ।’ प्राविधिक धारतर्फ नै अध्ययन गरिरहेका छात्र भविश बस्नेतले समाज र राष्ट्रको सेवा गर्ने सपना बोकेर इन्जिनियरिङ अध्ययन गरिरहेको बताए ।

विद्यालयले कक्षा-९ बाटै सिभिल इन्जिनियरिङको पठनपाठन सुरु गरेपछि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरे । विद्यालयले वि.सं. २०६१ सालदेखि शिक्षाशास्त्र संकायमा कक्षा ११ र १२ को कक्षा सुरु गरेको थियो ।

यस्तै वि.सं. २०६६ देखि व्यवस्थापन शंकायको पनि पढाई सुरु गरेको विद्यालयले वि.सं. २०७३ बाट प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको कक्षा सुरु गरेको थियो । प्राविधिक शिक्षा अध्ययनका लागि भोजपुर, तेह्रथुम लगायतका छिमेकी जिल्लाबाट पनि विद्यार्थीहरू आउने गरेका छन् ।

विश्वकै सबैभन्दा होचो अरुण उपत्यका अवस्थित यस विद्यालयमा धेरै गर्मीका कारण सामूहिक प्रार्थना सत्र हुँदैन । जब घण्टी बज्छ तब आ–आफ्नो कक्षाकोठामा राष्ट्रगान र सरस्वती बन्दनामा विद्यार्थीहरू सरिक हुन्छन् ।

विद्यार्थीहरूलाई केही समय योग-ध्यान समेत सिकाउने गरिएको विद्यालयले जनाएको छ । चुस्त व्यवस्थापन, रचनात्मक शैक्षिक गतिविधि, प्रभावकारी शिक्षण सिकाइ र अब्बल नतिजा दिन सकेको भन्दै यस विद्यालयलाई पुरस्कार समेत प्रदान गरिएको छ ।

प्रदेश सरकारले वि.सं. २०७४ मा पाँच लाख, वि.सं. २०७५ मा तीन लाख र वि.सं. २०७८ मा १४ लाख ५० हजार रुपैंयाँ सहित उत्कृष्ट व्यवस्थापन भएको विद्यालयको रूपमा पुरस्कृत गरेको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!