
विराटनगर । विराटनगरको कोशी अस्पताल र नेपाल क्षयरोग निवारण संस्था मोरङबीच जग्गा विवाद चर्किएको छ । अस्पतालले आफ्नो गुरुयोजना कार्यान्वयनका लागि जग्गा खाली गर्न १५ दिने अल्टिमेटम दिएपछि संस्थाको अस्तित्व संकटमा परेको हो ।
अस्पतालले सेवा विस्तार, पार्किङ र पूर्वाधार निर्माणका लागि उक्त जग्गा अपरिहार्य रहेको दाबी गर्दै आए पनि संस्थाले उचित वैकल्पिक व्यवस्था नगरी बलपूर्वक हटाउन खोजिए प्रदेशभरिको क्षयरोग नियन्त्रण कार्यक्रम नै ठप्प हुने चेतावनी दिएको छ ।
विराटनगरमा पत्रकार सम्मेलन गर्दै संस्थाले आफूहरू २०३६ सालदेखि सोही स्थानमा बसेर सेवा दिइरहेको र अहिले अचानक विस्थापित गर्न खोज्नु न्यायपूर्ण नभएको बताएको छ ।
संस्थाका कार्यवाहक सभापति भैरव क्षेत्रीले विकल्पबिना हटाइए उपचार सेवा पूर्णतः प्रभावित हुने बताए । संस्थाका अनुसार कोशी प्रदेशका करिब ३० प्रतिशत क्षयरोगीले यहीँबाट सेवा लिइरहेका छन् ।
यहाँ वार्षिक १० हजारभन्दा बढीको परीक्षण र १५ शय्याको आवासीय उपचार सेवा सञ्चालनमा छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले अस्पतालको बढ्दो चाप र स्वीकृत भइसकेको ‘मास्टर प्लान’ अनुसार अघि बढ्न जग्गा खाली गराउनुपर्ने बाध्यता रहेको बताए ।
अस्पतालले दिएको १५ दिने म्याद शुक्रबार सकिँदै छ । संस्थाले जग्गाको भोगाधिकारका लागि प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयमा पत्राचार गर्नुका साथै अदालतको आदेशअनुसार उचित व्यवस्थापन हुनुपर्ने माग राखेको छ ।

संगालोखबर 
















