सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । नेकपा एमालेकी केन्द्रिय सदस्य रामकुमारी झाँक्रीले अहिलेको सरकार एमालेले तय गरेको एजेन्डाको पछि दौडिरहेको बताएकी छन् । सोमबार युवा संघ नेपाल, अखिल नेपाल महिला संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले धनकुटामा आयोजना गरेको युवा, महिला र विद्यार्थीहरूको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले नेकपा एमाले सरकारमा हुँदा जनताको हितका लागि एजेन्डाहरू बनाइएको उल्लेख गरिन् । ‘एमाले जनताको हितमा काम गर्ने पार्टी हो’, उनले भनिन्, ‘गत भदौ २३ र २४ गतेको घटना योजनावद्ध भएको हो । अहिले देश जलाउनेहरूकै सरकार छ ।’

Advertisement

उनले लोकतन्त्रमा पनि सहज तरिकाले हिड्‌न, बोल्न सक्ने अवस्था नभएको र ज्यानको सुरक्षा समेत नरहेको उल्लेख गरिन् । सुकुम्बासीको भोटले सरकारमा पुगेपछि अहिले उनीहरूकै  घरमा डोजर चलाइएको भन्दै उनले सरकारको आलोचना गरिन् ।

यस्तै उनले गत फागुन २१ मा सम्पन्न निर्वाचनको परिणाम हेरेर आत्मसमीक्षा गर्न आवश्यक रहेको उल्लेख गरिन् । भू-राजनीतिका कारण पनि पार्टी भित्र यो अवस्था सिर्जना भएको भन्दै उनले यस कारण समग्र नेपालीले ठूलो समस्या र पीडा भोग्नु परेको सुनाइन् ।

पार्टीहरूको आन्तरिक प्रतिस्पर्धाका कारण कम्युनिस्ट धार कमजोर हुँदै गएको उनले बताइन् । उनले गलत सूचनालाई सत्य मानेर दगुर्दा थप समस्या थपिएको उल्लेख गरिन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य महाराज गुरुङले पार्टीलाई सिस्टमेटिक र वैचारिक रूपमा अघि बढाएका कारण धनकुटाबाट राजेन्द्र राई निर्वाचित भएको बताए । उनले आगामी स्थानीय र प्रदेशको निर्वाचनमा नयाँ पुस्ताले स्थान पाउनुपर्ने उल्लेख गरे ।

उनले लोकप्रियताका आधारमा बनेको अहिलेको सरकारले केही काम गर्न नसक्ने आरोप समेत लगाए । उनले अहिलेको सरकारले जनताको भरोसा र विश्वासलाई कुठाराघात गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!