
धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ र ४ नम्बर वडाको तल्लो भू-भागमा आँप ब्लक कार्यक्रम सञ्चालनमा ल्याइएको छ । बन्चरे, सिभुवा तथा तेलियाको पाथीभरा, गुठ, पिप्ले, मार्से लगायतका क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ्चालन गरिएको हो ।
बसाइँसराइका कारण बाँझो रहेको जमिनलाई व्यावसायिक कृषि उत्पादन केन्द्रका रूपमा विकास गर्ने योजनाका साथ आँप ब्लक विकास कार्यक्रम अघि सारिएको हो ।
गाउँपालिका र कृषि ज्ञान केन्द्र धनकुटाले स्थानीय किसानसँगको लागत साझेदारीमा करिब १ हजार २ सय रोपनी क्षेत्रफलमा आँप खेती विस्तार गर्ने योजना छ । कार्यक्रमलाई प्रभावकारी बनाउँन किसानलाई ६ हजार मालदह जातको आँपका बिरुवा वितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका निमित्त प्रमुख नगेन्द्र रानाका अनुसार बसाइँसराइले खाली भएको जमिनलाई सदुपयोग गर्दै व्यावसायिक कृषि उत्पादन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य छ । जसका लागि सरकारको १० लाख रुपैयाँ अनुदान र किसानको ६ लाख २५ हजार रुपैयाँ लागत साझेदारीमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय समावेशी सक्रिय कृषि सहकारी संस्थामार्फत आँपका बिरुवासँगै ४ वटा यान्त्रिक हलो र ९ हजार ३ सय मिटर प्लास्टिक पाइप वितरण गरिएको छ ।
सहकारीका अध्यक्ष डेकबहादुर लिम्बूका अनुसार परम्परागत खेती प्रणाली कमजोर बन्दै जाँदा किसानलाई दीर्घकालीन आम्दानी दिने बहुवर्षीय बालीतर्फ आकर्षित गर्न यो कार्यक्रम प्रभावकारी हुन्छ ।
छथर जोरपाटीको बन्चरे, सिभुवा, पाथीभरा, लामिछानेडाँडा, गुठ, पिप्ले, कर्कले, मार्से र तेलिया क्षेत्रमा बसाइँसराइको दर उच्च छ । बसाइ सरेर गएका परिवारले छाडेको खाली जग्गामा अभियानकै रूपमा आँप खेती विस्तार गर्न प्रेरित गरिएको स्थानीय किसान दीपक परियारले बताए ।
यो क्षेत्र हावापानी र भूगोलका हिसाबले आँप खेतीका लागि उपयुक्त मानिन्छ । गाउँपालिकाले सिभुवामा औद्योगिक ग्राम समेत स्थापना गरिसकेको छ । यसले खाली जमिनको सदुपयोगसँगै रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 
















