
झापा । झापामा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी जन्माएको नवजात शिशुलाई गाडेको अभियोगमा फरार भएका प्रतिवादीलाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बुधबार इलामको सूर्याेदय नगरपालिका-१० फिक्कल बजारस्थित मन्त्र होटलबाट उनलाई पक्राउ गरेको हो ।
प्रतिवादीलाई उनकै पीडित छोरीसँग बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय इलामको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।
प्रहरीका अनुसार गत वैशाख २ गते जमिनमा नवजात शिशु गाडेको अवस्थामा शव परेको सूचना पाउनसाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली खटिएको थियो । अनुसन्धानका क्रममा पीडितले आफ्नै बुबाले जबरजस्ती करणी गरी बच्चा जन्माउन लगाएको बताएकी थिइन् ।
बच्चा जन्मिएपछि बुबाकै सल्लाह बमोजिम शवलाई गाडिएको र बुबा भने कामका सिलसिलामा २ महिना अगाडि नै रोल्पा गएको भनी पीडितले प्रहरीलाई भनेकी थिइन् । सोही आधारमा इलाका प्रहरी कार्यालय झिलझिले वैशाख २ गते नवजात शिशु कर्तव्य ज्यान र वैशाख १० गते हाडनाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा सुरुमा फरार प्रतिवादी रोल्पामा लुकिछिपी बसेको जानकारी प्राप्त भयो । रोल्पा प्रहरीसँग समन्वय गरी खोजतलास गर्दा उनी त्यहाँबाट समेत भागेर विभिन्न अन्यत्र लुकेर बसेको खुलेको झापा प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रतिवादीमाथि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । पीडित छोरीलाई सुरक्षित रूपमा उद्धार गरी आवश्यक संरक्षणका लागि ‘आफन्त नेपाल’ काँकरभिट्टामा राखिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 



















