
धनकुटा । धनकुटाका ७ वटा स्थानीय तहमध्ये ६ वटाले मात्रै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याएका छन् । धनकुटा, पाख्रिबास र महालक्ष्मी नगरपालिका तथा चौबिसे, साँगुरीगढी र सहिदभूमि गाउँपालिकाले बजेट ल्याएका हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँ तथा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । धनकुटा नगरपालिका र सहिदभूमि गाउँपालिकाले यस अघि नै आगामी आर्थिक वर्षको २०८३/८४ को नीति, कार्यक्रम तथा बजेट ल्याइसकेका थिए ।
महालक्ष्मी र पाख्रिबास नगरपालिका तथा चौबिसे र साँगुरीगढी गाउँपालिकाले असार १० बुधबार बजेट प्रस्तुत गरेका छन् । छथर जोरपाटी गाउँपालिकाले भने गाउँपालिका अध्यक्ष छत्रबहादुर सुब्बा काम विशेषले बाहिर जानुपरेकाले निर्धारित समयमा बजेट प्रस्तुत गर्न नसकेको जनाएको छ ।
धनकुटा नगरपालिकाले ७६ करोड ८६ लाख २३ हजार, महालक्ष्मी नगरपालिकाले ६५ करोड २३ लाख ९३ हजार र पाख्रिबास नगरपालिकाले ६१ करोड ३७ लाख ७६ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।
सहिदभूमि गाउँपालिकाले ४७ करोड ९५ लाख ९२ हजार, चौबिसे गाउँपालिकाले ५५ करोड ८८ लाख ९९ हजार र साँगुरीगढी गाउँपालिकाले ५९ करोड १९ लाख ४६ हजार रुपैयाँ बराबरको अनुमानित आयव्यय प्रस्तुत गरेका हुन् ।
महालक्ष्मी नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको नगर प्रमुख ध्रुवराज रायले बताए । त्यस्तै पाख्रिबास नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका साथै अपाङ्गता रोकथाम, मलामी खर्च र विपन्न परिवारलाई उपचार खर्च प्राथमिकतामा राखेको छ ।
चौबिसे गाउँपालिकाले पनि कृषि, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । यस्तै साँगुरीढी गाउँपालिकाले आर्थिक विकास, सामाजिक विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 



















