
विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ कोठुबाट सप्तकोसी नदीमा हाम फालेका पुरुषको शव फेला परेको छ । नदीमा हाम फालेका धरान उपमहानगरपालिका-५ झरना चोकका ४२ वर्षीय सरोज श्रेष्ठको शव फेला परेको हो ।
प्रहरीका अनुसार उनले बुधबार बिहान करिब ८ बजे पुलमाथि साइकल, चप्पल र मोबाइल फोन छाडेर सप्तकोसी नदीमा हाम फालेका थिए । घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस चतरा, सुरक्षा बेस रामपुर तथा नेपाल प्रहरीका विभिन्न इकाइबाट संयुक्त टोली परिचालन गरिएको थियो ।
रबर डुंगासहित खटिएको २४ सदस्यीय संयुक्त टोलीले बिहानदेखि कोशी पुल, कोशी कटान, बोराबाँध र सिसौलीघाट आसपासका क्षेत्रमा खोजतलास गरेको थियो ।
खोजी गर्ने क्रममा साँझ करिब ६ बजे घटनास्थलदेखि करिब १० किलोमिटर दक्षिण बेलका-८ सिसौलीघाट पारीको कोशी नदीको बीच भागमा तैरिरहेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले नदीमा हाम फाल्नुको कारण खुल्न बाँकी छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

संगालोखबर 



















