
विराटनगर । इलामको माई नगरपालिका-२ स्थित कन्काई माध्यमिक विद्यालय दानाबारीमा कक्षा १० मा अध्ययनरत ९३ जना विद्यार्थीहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।
निर्वाचन आयोग कोशी प्रदेश कार्यालय विराटनगरको प्राविधिक र विज्ञको सहयोगमा मतदाता शिक्षा प्रदान गरिएको हो ।
मतदाता शिक्षा अन्तर्गत फर्जी मत, बदर मत, मतदाता नामावली, निर्वाचन आचारसंहिता, निर्वाचनमा अभिभावकको भूमिका, निर्वाचनमा विद्यार्थीको भूमिका, लोकतन्त्र आवधिक निर्वाचन, मतदाता परिचयपत्र, दलीय राजनीति लगायतका विषयमा जानकारी गराइएको छ ।
कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख युवराज गुरागाईं र अधिकृत चोलाराज दंगालले विद्यार्थीहरूलाई अभिमुखीकरण मार्फत मतदाता शिक्षा कार्यक्रमको सहजीकरण गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरूले लोकतन्त्र आवधिक निर्वाचन, निर्वाचन आचार-संहिता, दलहरूबीचको भिन्नता विषयमा विज्ञलाई प्रश्न र जिज्ञासा राखेका निर्वाचन कार्यालयका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए ।
मतदाता शिक्षा कार्यक्रम चालु आर्थिक वर्षमा कोशी प्रदेशका १४ वटै जिल्लामा सम्पन्न हुन गइरहेको कार्यालयले जनाएको छ । मतदाता शिक्षा कार्यक्रमले बदर मतको सङ्ख्या घटाउने र निर्वाचन आचारसंहिता पालनामा सहयोग पुग्ने कार्यालयको विश्वास छ ।

संगालोखबर 



















