संगालोखबर

धनकुटा । धनकुटामा पत्रकारलाई धम्की दिएको आरोपमा काँग्रेस क्षेत्रीय सदस्य पर्शुराम कार्की पक्राउ परेका छन् । महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ घर भएका कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले रेडियो धनकुटा एफएमका स्टेसन मेनेजर गोपाल बराइलीमाथि समाचार लेखेको विषयलाई लिएर धम्की दिएको आरोप छ । उनलाई आज बिहान घरबाटै पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रंजितकारले जानकारी दिए । 

‘उहाँलाई पक्राउ गरेर जिल्ला ल्याइएको छ’, एसपी रंजितकारले भने, ‘हामीले थप अनुसन्धान अघि बढाएका छौँ ।’ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य समेत रहेका बराइली दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष हुन् । 

बराइलीलाई कार्कीले सामाजिक सञ्जाल मेसेन्जरमा जातीय रूपमा गाली गर्दै परिवार र ज्यानको ख्याल गर भन्दै धम्की दिएका थिए । बराइलीले गत असार ४ गते राहदानी छपाइ प्रकरणका विषयमा नेपाली काँग्रेसका नेता तथा राष्ट्रिय सभा सदस्य सुनिलबहादुर थापाका छोरा सिद्धार्थ थापालाई अख्तियारले छानविन गरेको बारेमा समाचार प्रकाशित गरेका थिए ।

सोही समाचार सार्वजनिक भएपछि कार्कीले पत्रकार बराइलीलाई धम्की आएको हो । धम्की र दबाब बढेपछि पत्रकार बराइलीले नेपाल पत्रकार महासंघलाई जानकारी गराए ।  सो पश्चात् महासंघ धनकुटा शाखा, कोशी प्रदेश समिति, केन्द्रिय समिति र दलित पत्रकार संघ लगायत पत्रकार सम्बद्ध संघसंस्थाले विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण गराएका छन् । 

घटनापछि पत्रकार बराइलीले जिल्ला प्रहरी कार्यालयमा ज्यान मार्ने धम्की आएको तथा जातीय रूपमा गाली गरेको भन्दै असार ६ गते उजुरी दिएका थिए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!