
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-६ नहर चोक नजिक आज डाक्टरले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी वरिष्ठ सईको मृत्यु भएको छ ।
विराटनगरबाट बर्जु गाउँपालिकाको चिमडीतर्फ जाँदै गरेको प्र १-०२-००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १-०१-००३ प २६१२ नम्बरको मोटरसाइकललाई मध्यान्ह करिब १२ बजे ठक्कर दिएको हो । ठक्करबाट मोटरसाइकलमा सवार सप्तरी घर भएका प्रहरी वरिष्ठ सई ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएका सई यादवलाई उपचारका लागि विराट नर्सिङ होम ल्याइएको थियो । उपचारकै क्रममा अपरान्ह करिब ४ बजे उनको मृत्यु भएको हो । मोटरसाइकल पछाडि सवार रहेकी उनकी पत्नी ४७ वर्षीया रामपरी यादव घाइते छन् । विराट नर्सिङ होममा उनको उपचार भइरहेको छ ।
घटनापछि प्रहरीले कार चालक ५० वर्षीय डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ । मोरङको कटहरी गाउँपालिका-३ घर भएका चौधरी रेडियोलोजिस्ट हुन् । उनी चिमडी बजारमा एक्स-रे गर्न जाँदै गर्दा दुर्घटना भएको हो ।

संगालोखबर 



















