
विराटनगर । विराटनगर महानगरपालिकाले घर तथा अन्य भवन निर्माणका लागि नयाँ मापदण्ड लागू गरेको छ । घर निर्माणका क्रममा हुने अव्यवस्थित गतिविधिका कारण नाला जाम, सडक क्षति तथा सरसफाइ व्यवस्थापनमा देखिएका समस्या न्यूनीकरण गर्न नयाँ मापदण्ड लागू गरेको हो ।
अबदेखि घरनक्सा पास गर्ने प्रक्रियामा निर्माणकर्ताले सरसफाइसँग सम्बन्धित सात वटा अनिवार्य शर्त पालना गर्नुपर्ने भएको छ । महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाले जारी गरेको व्यवस्थाअनुसार निर्माण सामग्री सडक, नाला तथा पेटीमा राख्न पाइने छैन ।
साथै निर्माण सामग्री ढुवानीका क्रममा नाला जाम भए वा क्षति पुगेमा सम्बन्धित निर्माणकर्ताले आफ्नै खर्चमा सफाइ तथा मर्मत गर्नुपर्नेछ । निर्माणस्थलबाट निस्कने बालुवा, सिमेन्ट तथा माटो मिसिएको पानी नालामा बगाउन निषेध गरिएको छ ।
निर्माण कार्यका क्रममा मानवीय क्षति हुन नदिन आवश्यक सुरक्षा मापदण्ड अपनाउनुपर्ने व्यवस्था पनि गरिएको छ । महानगरले नक्सा पास प्रमाणपत्र जारी गर्नुअघि निर्माणस्थल आसपासका नालाको सफाइ, नाला ढक्कनको मर्मत तथा सडकमा भएको टुटफुटको व्यवस्थापन अनिवार्य गरेको छ ।
यी कार्य पूरा नभएसम्म अन्तिम नक्सा पास प्रमाणपत्र जारी नगरिने महानगरले जनाइएको छ । त्यसैगरी महानगरका कर्मचारीले अनुगमनका क्रममा तोकिएका मापदण्ड पालना नगरेको भेटिएमा नियमानुसार जरिवाना गरिनेछ ।
निर्माणजन्य फोहोर सडक तथा सडक किनारमा जथाभावी थुपार्न पनि रोक लगाइएको छ । निर्माणकर्ताले यी सबै शर्त पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको महानगरले जनाएको छ ।
मापदण्ड उल्लंघन भएको पाइएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८१ बमोजिम कारबाही गरिने उल्लेख गरिएको छ ।
सरसफाइ व्यवस्थापन शाखाका प्रमुख पुनमकुमार दाहालका अनुसार घरनक्सा पास प्रक्रियासँगै सरसफाइका मापदण्डलाई अनिवार्य बनाउँदा नाला जाम हुने समस्या २० देखि २५ प्रतिशतसम्म घट्ने अपेक्षा गरिएको छ ।

संगालोखबर 


















