
धनकुटा । नेपाल दुरसञ्चार कम्पनी लिमिटेड धनकुटाले विश्रान्ति वृद्धाश्रम र गुरुकुललाई एक लाख रुपैयाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा लजिस्टिक सामग्री हस्तान्तरण गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तरगत दुरसञ्चारले धनकुटा नगरपालिका-९ स्थित मूलघाटमा रहेको विश्रान्ति मन्दिरमा संचालित वृद्धाश्रम र गुरुकुललाई सहयोग गरेको हो ।
दुरसञ्चारले चामल, दाल र भुजा लगायतका खाद्यान्न र फ्रिज हस्तान्तरण गरेको छ । आस्तिक तथा नास्तिक दुवैका लागि प्रेरणाको केन्द्रका रूपमा विकसित हुँदै गएको मन्दिरले धार्मिक कार्यसँगै सामाजिक सेवामा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।
मृत्यु भएका मानिसको दाहसंस्कारका लागि दाउरा दिने उद्देश्यले वि.सं.२०४० सालमा विश्रान्ति धामको स्थापना गरिएको थियो । विश्रान्ति मन्दिरमा २०४२ सालदेखि वृद्धाश्रम सञ्चालन हुँदै आएको छ ।

आश्रममा हाल ३० जना वृद्धवृद्धा आश्रित छन् । यस्तै धाममा वि.सं. २०७९ सालदेखि गुरुकुल संचालन हुँदै आएको छ । गुरुकुलमा हाल ४० जना विद्यार्थी अध्ययनरत छन् । गुरुकुलमा सात जना शिक्षक तथा एक जना स्वामीले अध्यापन तथा धार्मिक शिक्षण कार्य गराउँदै आएका मन्दिर व्यवस्थापन समितिका महासचिव जनार्दन घिमिरे ‘गोठाले’ ले बताए ।
यस्तै आर्थिक व्यवस्थापनका लागि सञ्चालन गरिएको ‘रु एक बाट एक करोड रुपैयाँ’ अभियानमार्फत हालसम्म ३ हजारभन्दा बढी व्यक्तिले सहयोग गरेका छन् । सोही अभियानबाट संकलित तथा अन्य अक्षयकोषमा गरी हाल साढे ३ करोड रुपैयाँ बढी रकम रहेको महासचिव घिमिरेले जानकारी दिए ।
आश्रममा वृद्धवृद्धा हेरचाहका लागि आठ जना स्वयंसेवक परिचालन गरिएको छ । साथै परिसरभित्र गाईपालन, अर्गानिक तरकारी तथा फलफूल खेतीसमेत गरिएको छ । जसबाट आश्रमका आश्रितलाई दैनिक अर्गानिक खानाको व्यवस्था मिलाइएको छ ।
२२ रोपनी क्षेत्रफलमा फैलिएको विश्रान्ति मन्दिर परिसरमा दाताहरूको सहयोगमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरिएको छ । संस्थाले धार्मिक, शैक्षिक तथा सामाजिक गतिविधिहरूलाई एकसाथ अघि बढाउँदै आएको छ ।

सन्तोष सुवेदी/संगालोखबर 



















