
विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ अमरडुवाकी २२ वर्षीया चाँदनी राय रहस्मय तरिकाले बेपत्ता भएको घटनामा पीडित पक्षलाई न्यायिक प्रक्रियामा जान इन्सेक कोशी प्रदेशले कानुनी सहायतासँगै आर्थिक सहयोग गरेको छ ।
०८२ असोज ६ गते घरबाट रहस्यमय तरिकाले बेपत्ता भएकी पीडितको खोजी तथा कानुनी प्रक्रियाका इन्सेकले पाँच हजार आर्थिक सहयोग प्रदान गरेको हो ।
बेपत्ता महिलाका बाबु ब्रह्मदेव रायले ०८३ जेठ २१ गते न्यायका लागि पहल गरिदिन आग्रह गर्दै इन्सेकलाई निवेदन दिएपछि आर्थिक सहयोग प्रदान गरिएको इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलले बताए ।
सामाजिक परम्परा अनुसार बर्जु गाउँपालिका–३ अमरडुवाका ३० वर्षीय अजय रायसँग चाँदनीको विवाह भएको थियो । पतिको घरबाटै रहस्यमय ढङ्गले बेपत्ता भएको र प्रहरीमा उजुरी दिँदा समेत प्रहरीले वेवास्ता गरेकाले इन्सेकलाई निवेदन दिएको पीडितका बाबु ब्रह्मदेव रायले बताए ।
ज्वाइँ अजय र ज्वाइँकी भाउजुबीच अनैतिक सम्बन्ध रहेको विषयमा छोरीले माइती पक्षलाई जानकारी गराएपछि छोरी बेपत्ता भएको पीडित ब्रह्मदेवको भनाइ छ । छोरीले पति र जेठानीबीचको अनैतिक सम्बन्धका बारेमा माइती पक्षलाई जानकारी गराएपछि छोरीलाई आरोपित अजयले कुटपिट गर्ने गरेको पीडित ब्रह्मदेव रायले बताए ।
छोरी ज्वाइँबीच सम्बन्ध बिग्रिएपछि बर्जु गाउँपालिका-३ मा रहेको अमरेश्वरनाथ टोल विकास संस्थामा ०८२ असोज २२ गते निवेदन दिएको र समाजमा छलफल हुँदा ज्वाइँले गल्ती स्वीकारेर छोरी लगेको उनले बताए । तर त्यसको १७ दिनपछि छोरी चाँदनी रहस्यमय तरिकाले घरबाटै बेपत्ता भएको उनको भनाइ छ ।
छोरी बेपत्ता भएपछि पहिले आफैँले खोजी गरेको तर पार नलागेपछि ०८२ चैत ६ गते इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएको भएपनि प्रहरीले निवेदनमाथि भएको कारबाहीका बारेमा जानकारी दिनुको सट्टा दशैँपछि आउनु, तिहार र छठपछि खोजी हुन्छ भनेर टार्ने गरेको पीडित ब्रह्मदेवले आरोप लगाए ।
छोरी बेपत्ता भएको २० दिनपछि अर्थात ०८२ असोज २६ गते हरिनगरा खोलाको डिलमा सडेगलेको अवस्थामा महिलाको शव फेला परेको थियो । सो शव राखिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहमा गएर हेर्दा दाँत र टाउकोको मोहडा छोरीसँग मिल्ने जस्तो लागेर प्रहरीसँग डीएनए टेष्ट गर्न अनुरोध गर्दा प्रहरीले नमानी पोष्टमार्टम गरेको पीडित ब्रह्मदेवले बताए ।
पीडित पक्षले इन्सेकलाई निवेदन दिएसँगै इन्सेक कोशी प्रदेश कार्यालयको सहयोगमा घटनाका आरोपित, बेपत्ता महिलाका पति ३० वर्षीय अजय राय र उनका भिनाजु ३५ वर्षीय रवि रायविरुद्ध पीडित पक्षले ०८३ जेठ २८ गते प्रहरी प्रधान कार्यालयमा हुलाकमार्फत निवेदन दिएका छन् ।

संगालोखबर 


















