
विराटनगर । विराटनगरको नोबेल अस्पतालले छालासम्बन्धी समस्याका लागि अत्याधुनिक प्रविधिबाट उपचार गरिरहेको छ । नोबेलले छालामा देखिने दुबी, कोठी, गाँठागुँठी, चाउरी, चाँयापोतो लगायत कुष्ठरोग तथा सौन्दर्यसम्बन्धी समस्याहरूको उपचारका लागि विशेष सेवा सञ्चालनसहित उपचार गरिरहेको हो ।
छालामा देखिने सबै प्रकारका रोगहरूको उपचार अत्याधुनिक उपकरण तथा विशेषज्ञ चिकित्सकमार्फत गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार ट्याटु देखि अनावश्यक स्थानमा आएका रौं हटाउने तथा आवश्यक स्थानमा रौं उमार्नेसम्मका सेवा उपलब्ध छ ।
अस्पतालका छाला, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डा. मनिष प्रधानका अनुसार छाला उपचारलाई कन्भेन्सनल र कस्मेटिक डर्माटोलोजीमा विभाजन गरिएको छ । उनका अनुसार कन्भेन्सनल डर्माटोलोजी रोगको पहिचान तथा उपचारमा केन्द्रित क्षेत्र हो ।
यसअन्तर्गत एलर्जी, छालामा आउने र्यास, डन्डिफोर, लुतो, पिलो तथा घाउ, सोरायसिस, एक्जिमा, कपाल झर्ने समस्या, छालाको संक्रमण तथा नङसम्बन्धी रोगहरूको उपचार गरिन्छ । कस्मेटिक डर्माटोलोजी छालाको सौन्दर्य अभिवृद्धि तथा आकर्षण बढाउने उपचारसँग सम्बन्धित छ ।
यसअन्तर्गत लेजर, बोटोक्स, फिलर तथा छालाको सौन्दर्य बढाउने विभिन्न उपचार पर्छन् । डा. प्रधानका अनुसार सौन्दर्यप्रति चासो बढ्दै जाँदा यस्ता सेवा लिन आउनेहरूको संख्या पनि उल्लेखनीय रूपमा बढिरहेको छ ।
यहाँ आउने धेरैजसो व्यक्तिहरू रोगको उपचारभन्दा पनि छालाको सौन्दर्य सुधारका लागि सेवा लिन आउने उनले बताए । विशेषगरी महिलाहरू अनुहारमा आउने अनावश्यक रौंको समस्या लिएर आउने गरेका छन् । कतिपय अवस्थामा यस्तो समस्या कुनै रोगका कारण पनि हुनसक्ने र ती रोगको पहिचान गरेर उपचार गरिने गरेको उनले बताए ।
नोबेल अस्पतालमा छाला रोगको उपचार सेवा सुरु भएको करिब दुई दशक भइसकेको छ । उपचारपछि धेरैजना सन्तुष्ट हुने र अरूलाई पनि सिफारिस गरेर ल्याउने गरेको अनुभव डा. प्रधानको छ ।
‘धेरैजसो उपचार एकपटक मात्र गरेर पुग्दैन । आवश्यकता अनुसार पटक-पटक गर्नुपर्ने हुन्छ’, उनले भने, ‘यहाँ आधुनिक उपकरणमार्फत छालाको क्यान्सर तथा कुष्ठरोगको पहिचानका लागि बायोप्सीसमेत गरिन्छ ।’
अत्याधुनिक प्रविधिमार्फत कार्बन पिलिङ र हाइड्राफेसियलद्वारा छालाको सौन्दर्य अभिवृद्धि गर्ने सेवा पनि उपलब्ध रहेको उनले जानकारी दिए । उनका अनुासर ट्यााटु हटाउन पिको लेजर प्रविधि प्रयोग गरिन्छ ।
त्यसैगरी कोठी, पोतो तथा मुसाको प्रकृतिअनुसार पिको लेजर, कार्बन डाईअक्साइड लेजर वा आवश्यक परे शल्यक्रियामार्फत पनि उपचार गर्ने गरिएको उनले बताए । डन्डिफोरका कारण बिग्रिएको अनुहारको उपचारमा माइक्रो लेजर प्रविधि प्रयोग गर्ने गरिएको छ ।
कपालसम्बन्धी विभिन्न समस्याको उपचारका लागि पनि नोबेलमा विशेष सेवा उपलब्ध छ । सेवाग्राहीहरू कपाल झर्ने वा कपाल नउम्रिने समस्या लिएर उपचारका लागि आउने गर्छन् । लेजर उपचारबाट अनावश्यक रौंको वृद्धि उल्लेखनीय रूपमा घटाउन सकिने डा. प्रधानले बताए ।
नोबेलमा बिरामीकै रगत प्रयोग गरेर कपाल पुनः उमार्ने उपचार पनि गर्ने गरिएको उनले बताए । दुबी (सेतो दाग) को उपचारका लागि औषधि तथा फोटोथेरापी विधि प्रयोग गरिन्छ । नोबेल अस्पतालले छाला रोगको उपचारसँगै सौन्दर्य अभिवृद्धि र आत्मविश्वास बढाउन आधुनिक प्रविधिमा आधारित विभिन्न सेवा प्रदान गर्दै आएको डा. प्रधानले जानकारी दिए ।

संगालोखबर 


















