
धनकुटा । तथ्याङ्कीय अनुसन्धान क्षमता तथा विश्लेषणलाई सहज बनाउन धनकुटाको पाख्रीबासमा पाँचदिने ‘तथ्याङ्कीय विश्लेषण तथा जर्नल लेखन’ तालिम सम्पन्न भएको छ ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको प्राकृतिक स्रोत व्यवस्थापन कलेज (सीएनआरएम) पाख्रीबासले आयोजना गरेको कार्यक्रममा पाँच विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिकको सहभागिता थियो ।
विश्वविद्यालय अनुदान आयोग (यूजीसी), सानोठिमी भक्तपुरको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो । तालिममा कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय तथा मधेश कृषि विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पस र अनुसन्धान संस्थामा कार्यरत २२ जना प्राध्यापक, अनुसन्धानकर्ता तथा प्राविधिकको सहभागि थिए ।
तालिमका क्रममा सहभागीहरूले तथ्याङ्कीय विश्लेषण, अनुसन्धान तथ्याङ्क व्यवस्थापन, वैज्ञानिक लेखन, प्रकाशन नैतिकता, जर्नल छनोट, अनुसन्धान लेख प्रकाशन प्रक्रिया तथा समीक्षकका सुझावहरूको प्रभावकारी व्यवस्थापन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान हासिल गरेका छन् ।
सहभागीहरूले वास्तविक अनुसन्धान तथ्याङ्क प्रयोग गरी विभिन्न तथ्याङ्कीय विश्लेषणका अभ्यास समेत गरिएको कृषि तथा वन विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन कलेज पाख्रीबासका प्रमुख निराजन भण्डारीले जानकारी दिए ।
तालिममा प्रमुख स्रोत व्यक्तिका रूपमा डा. रोशन बाबु ओझाले सहजीकरण गरेका थिए । उनले अन्तर्राष्ट्रिय स्तरका जर्नलमा प्रकाशन योग्य अनुसन्धान लेख तयार गर्ने प्रक्रिया, अनुसन्धानको गुणस्तर अभिवृद्धि तथा वैज्ञानिक लेखनका विविध पक्षबारे प्रशिक्षण दिएका थिए ।
तालिमले सहभागीहरूको अनुसन्धान क्षमता, तथ्याङ्कीय विश्लेषण सीप तथा वैज्ञानिक लेखन दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ ।

संगालोखबर 

















