
संखुवासभा । बलात्कार घटनामा पीडित भएकी १० वर्षीया बालिकालाई कानुनी उपचारमा जान र स्वास्थ्य उपचारका लागि इन्सेकले आर्थिक सहयोग गरेको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि पाँच हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
घटनापछि पीडित बालिकालाई सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रमा राखिएको र आवास गृहकी व्यवस्थापक पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि जेठ २६ गते आर्थिक सहयोग गरिएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए ।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको र कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रकी व्यवस्थापक तुलसी घिमिरेले बताइन् ।
जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर धनबहादुर राजवंशीको उपस्थितिमा इन्सेकले पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो । पीडित बालिकालाई जिल्ला अस्पताल संखुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनर्स्थापना केन्द्रमा राखिएको छ ।
आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि इन्सेकलाई आग्रह गरेको थियो । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी पीडित बालिकाको शरीरमा चोट र निलडाम थियो ।
पीडित बालिकालाई जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका-३ का ३० वर्षीय अरुण राईलाई जेठ २० गते गिरफ्तार गरेको थियो । इन्सेकको सहयोगपछि पीडित पक्षलाई कानुनी प्रक्रियामा सहयोग पुगेको छ ।
पीडित पक्षले बलात्कार घटनाका आरोपित राईविरुद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको थियो ।

संगालोखबर 

















