
धनकुटा । धनकुटाको डा. रामप्रसाद पोख्रेल आँखा अस्पतालमा ७७ जनाको निःशुल्क मोतियाबिन्दुको अप्रेसन गरिएको छ । तीन दिनसम्म संचालन भएको निःशुल्क आँखा तथा मोतियाबिन्दुको शल्यक्रिया शिविरमा पाँच सय बढीले निःशुल्क सेवा लिएका छन् ।
आँखा परीक्षण गरिएकाहरूलाई आवश्यक परामर्श, चस्मा र औषधी समेत निःशुल्क उपलब्ध गराइएको अस्पतालका निवर्तमान अध्यक्ष तथा केन्द्रिय प्रवक्ता द्रोणप्रसाद गुरागाईंले जानकारी दिए ।
धनकुटाका ७ वटै पालिकाका आँखाका रोगी र आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसक्नेहरूलाई ल्याउने लैजाने साथै खानेबस्ने व्यवस्था समेत गरिएको थियो ।
शिविरमा धनकुटा बाहेक तेह्रथुम, संखुवासभा, भोजपुर, ताप्लेजुङ लगायतका स्थानबाट बिरामीहरू आएर सेवा लिएका अस्पतालका सचिव देवबहादुर खड्काले बताए । शिविरको पहिलो दिन नेपाल प्रहरी तथा प्रहरीका परिवारका सदस्यको आँखा जाँच गरिएको थियो ।
दोस्रो दिन सर्वसाधारणहरूको आँखा परीक्षण गरिएको थियो । बिरामीको चाप भएकाले तेस्रो दिनपनि शिविर सञ्चालन गरिएको अस्पतालले जनाएको छ । यो वर्ष देशभरिका प्रहरी र पूर्वप्रहरीको आँखा परिक्षण गरिने जनाइएको छ । अहिले नेपालमा शून्य दशमलब २२ प्रतिशतमा आँखाको समस्या रहेको विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथु बताए ।
निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर विराटनगर आँखा अस्पताल, केशी प्रदेश प्रहरी अस्पताल सुनसरीको प्राविधिक सहयोग तथा नेपाल नेत्रज्योति संघ सेवा फाउण्डेसनको सहयोग र डा. रामप्रसाद पोख्रेल आँखा अस्पताल धनकुटाको आयोजनामा गरिएको हो ।

सन्तोष सुवेदी/संगालोखबर 

















