
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ ।
दुर्घटनामा उदयपुरकाे त्रियुगा नगरपालिका–२ स्थायी घर भई हाल प्रहरी चौकी कोशी ब्यारेज सुनसरीमा कार्यरत ३२ वर्षीय प्रहरी जवान रन्दिप पौडेलकाे मृत्यु भएकाे हाे ।
उनी कार्यालयको विशेष कामका लागि प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
राति करिब १० बजेतिर प्र.१–०२–००३ ह १०५२ नम्बरको सिटी सफारी र स ११ प २५०० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा पौडेल गम्भीर घाइते भएका थिए । दुर्घटनामा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
घाइते पौडेललाई तत्काल उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल, भोक्राहा लगिएकोमा चिकित्सकले राति १०ः२० बजेतिर मृत घोषणा गरेका थिए । दुर्घटनापछि इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय भाण्टाबारीमा राखिएको प्रहरीले जनाएको छ । सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ दुर्घटनापछि फरार रहेका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तीव्र गतिका कारण माेटरसाइकल दुर्घटना भएकाे प्रहरीकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ ।

संगालोखबर 

















