संगालोखबर


विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा स्वास्थ्यकर्मीहरूका लागि एकदिने संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी तालिम आयोजना भएको छ ।

अस्पतालकी नर्सिङ मेट्रोन श्रीजु पराजुलीको सञ्चालन तथा अस्पतालको आइपिसी टोलीको विशेष समन्वयमा तालिम सञ्चालन गरिएको हो । स्वास्थ्य सेवालाई सुरक्षित र गुणस्तरीय बनाउने उद्देश्यका साथ तालिम गरिएको अस्पतालले जनाएको छ ।

Advertisement

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूको ज्ञान तथा सीप अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित यस तालिममा संक्रमण नियन्त्रणका विविध सैद्धान्तिक र व्यावहारिक पक्षहरूमाथि गहन प्रशिक्षण दिइएको थियो ।

संक्रमण नियन्त्रणका आधारभूत नियम र आइसोलेसनका बेला अपनाउनुपर्ने सावधानीहरू, हातको सही सरसफाइ र व्यक्तिगत सुरक्षा सामग्रीको उचित प्रयोग, चिकित्सा उपकरणहरूको प्रशोधन, निर्जीवीकरण र डिकन्टामिनेसनका विषयमा जानकारी गराइएको थियो ।

यस्तै सुईले घोचेर हुने चोटको व्यवस्थापन र केमिकल वा अन्य तरल पदार्थ पोखिँदा गरिने ‘स्पिल’ व्यवस्थापन, स्वास्थ्यजन्य हानिकारक फोहोरमैलाको उचित वर्गीकरण र विसर्जन लगायतका बारेमा जानकारी गराइएको थियो ।

अस्पतालका विभिन्न विभागबाट सहभागी भएका नर्सिङ लगायतका स्वास्थ्यकर्मीहरूलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक अभ्यास समेत गराइएको थियो । जसअन्तर्गत हातको सरसफाइ गर्ने सही तरिका, फोहोरको वर्गीकरण, सिभिसि ड्रेसिङ, उपकरणहरूको सुरक्षित प्याकिङ तथा अनप्याकिङ, पिपिइ लगाउने र फुकाल्ने विधि र स्पिल व्यवस्थापनको प्रत्यक्ष प्रदर्शन गरिएको थियो ।

अस्पताल प्रशासनका अनुसार आगामी दिनहरूमा पनि अस्पतालको सेवालाई थप सुरक्षित, भरपर्दो र गुणस्तरीय बनाउनका लागि यस्ता सीपमूलक तथा सचेतनामूलक तालिमहरूलाई निरन्तरता दिइनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!