
विराटनगर । विराटनगर महानगरपालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै ० देखि ५९ महिनासम्मका ११ हजार ६३० बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याएको छ ।
बाल स्वास्थ्य संरक्षण र रोग नियन्त्रणलाई प्राथमिकतामा राख्दै महानगरले सञ्चालन गरेको अभियानले सबै वडामा खोप सुनिश्चितताको लक्ष्य हासिल गरेको हो ।
महानगरपालिकाका अनुसार पूर्ण खोप प्राप्त गर्ने बालबालिकामध्ये ०-११ महिनाका २ हजार १३९ जना, १२-१५ महिनाका ९७७ जना, १६-२३ महिनाका १ हजार ५४८ जना तथा २४-५९ महिनाका ६ हजार ९६६ जना रहेका छन् ।
यस उपलब्धिसँगै विराटनगरले बालबालिकालाई खोपबाट रोकथाम गर्न सकिने रोगविरुद्ध सुरक्षित बनाउने अभियानलाई थप संस्थागत र दिगो बनाएको जनाएको छ ।
पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमअन्तर्गत आयोजित विशेष कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको उपस्थितिमा वडा नम्बर १ देखि १९ सम्मका सबै वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना सम्बन्धी प्रमाणपत्र प्रदान गरिएको थियो ।
आवश्यक सबै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता हासिल गरेका वडाहरूलाई सम्मानस्वरूप प्रमाणपत्र वितरण गरिएको महानगरले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै महानगर मेयर कोइरालाले बालबालिकाको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु स्थानीय सरकारको प्रमुख दायित्व भएको उल्लेख गरे ।
उनले खोप अभियानले बाल मृत्युदर घटाउन, रोगको जोखिम न्यूनीकरण गर्न तथा स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको बताए । उनले पूर्ण खोप सुनिश्चितता हासिल गर्नु मात्रै अन्तिम लक्ष्य नभई यसको दिगोपना कायम राख्नु अझ महत्वपूर्ण चुनौती रहेको भन्दै सबै सरोकारवालाको निरन्तर सहकार्य आवश्यक रहेको धारणा राखे ।
महानगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कार्कीका अनुसार महानगरले नियमित खोप सेवाको पहुँच विस्तार, अभिभावकमा जनचेतना अभिवृद्धि तथा स्वास्थ्यकर्मीहरूको सक्रिय परिचालनमार्फत उल्लेखनीय सफलता हासिल गरेको हो ।
खोप संयोजक सुशील साहले विराटनगरमा खोप सेवाको गुणस्तर सुधार, तथ्यांक व्यवस्थापन र समुदायस्तरको सहभागिताले अभियान सफल भएको बताए । उनका अनुसार स्वास्थ्य संस्थाहरू, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा अभिभावकबीचको समन्वयले पूर्ण खोप सुनिश्चितताको लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

संगालोखबर 

















