
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा विराटनगर महानगरपालिकाले वातावरण संरक्षण, हरियाली विस्तार तथा जलवायु परिवर्तन न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउने दुई संस्थालाई सम्मान गरेको छ ।
आज महानगर परिसरमा आयोजित कार्यक्रममा वातावरणीय सचेतना अभिवृद्धि, वृक्षारोपण प्रवर्द्धन तथा समुदायस्तरमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्दै आएका गो ग्रीन विराटनगर र सुनौलो अवसर युवा क्लबलाई सम्मान गरिएको हो ।
सो अवसरमा महानगरले हरित विराटनगर अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले गो ग्रीन विराटनगरका नविनचन्द्र अधिकारी र सुनौलो अवसर युवा क्लबका पुष्पराज गिरीलाई खादा, माला तथा सम्मानपत्रले सम्मान गरेका छन् ।
कार्यक्रममा बोल्दै मेयर कोइरालाले वातावरणीय सङ्कट विश्वकै साझा चुनौती बनेको उल्लेख गर्दै यसको समाधानका लागि सरकार, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

पछिल्ला वर्षहरूमा बढ्दो तापक्रम, अनियमित वर्षा र प्रदूषणका कारण वातावरणीय जोखिम तीव्र बन्दै गएको उल्लेख गर्दै उनले प्रत्येक घर, विद्यालय, उद्योग तथा संघसंस्थाले वृक्षारोपणलाई अभियानकै रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।
‘हरित वातावरण बिना दिगो विकास सम्भव छैन’, उनले भने, ‘आज रोपिएको एउटा बिरुवाले भोलिको पुस्तालाई स्वच्छ हावा, शीतल वातावरण र सुरक्षित भविष्य दिन सक्छ ।’
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलले विराटनगरलाई व्यवस्थित, स्वच्छ र हरित सहरका रूपमा विकास गर्न सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए । वातावरणीय सुधारलाई महानगरको दीर्घकालीन विकास रणनीतिसँग जोडेर अघि बढाइने उनको भनाइ थियो ।
वातावरण शाखा प्रमुख इन्जिनियर राकेश ठाकुरले वातावरण संरक्षणका क्षेत्रमा नागरिक सहभागिता बढाउन महानगरले विभिन्न सचेतनामूलक तथा हरियाली प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि स्थानीय तहको भूमिका अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरे ।
यसअघि वातावरण संरक्षणसँग सम्बन्धित विभिन्न संघसंस्था, युवा समूह तथा विद्यालयका विद्यार्थीहरूको सहभागितामा महेन्द्रचोकबाट प्रभातफेरी आयोजना गरिएको थियो । वातावरणमैत्री जीवनशैली, फोहोर व्यवस्थापन, वृक्षारोपण र जलवायु सचेतनासम्बन्धी सन्देशसहित निकालिएको प्रभातफेरीले नगरवासीको ध्यान वातावरणीय मुद्दातर्फ आकर्षित गरेको थियो ।

संगालोखबर 

















