संगालोखबर


काठमाडौं । रोजगारीका लागि मलेसिया पुगेका ५३ वर्षीय राजाराम मण्डल विदेशी भूमिमा अचानक मस्तिष्कघातको सिकार बने । अवस्था यति गम्भीर भयो कि उनी हिँडडुल गर्न नसक्ने अवस्थामा पुगे ।

मलेसियामै गरिएको एमआरआई परीक्षणले समस्या गम्भीर रहेको देखाएपछि परिवारले उनलाई नेपाल फर्काउने निर्णय गर्याे । नेपाल आएपछि मण्डल उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल पुगे ।

Advertisement

तर आर्थिक अभावका कारण त्यहाँ उपचारलाई निरन्तरता दिन सम्भव भएन । त्यसपछि उनी काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगल पुगे । त्यहीँ उनको भेट न्युरोइन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलसँग भयो । डा. पौडेलकै सिफारिसमा उनी भक्तपुरको दुवाकोटस्थित केएमसी युनिट-२ मा भर्ना भए ।

अस्पताल पुगेपछि डा. पौडेलको टोलीले उनको विस्तृत परीक्षण गर्दै उपचार प्रक्रिया अघि बढायो । डा. पौडेलका अनुसार उपचारका लागि आउँदा मण्डललाई पटक–पटक पक्षघात भइरहेको थियो ।

मलेसियामा गरिएको एमआरआईले उनको देब्रे मस्तिष्कतर्फको प्रमुख रक्तनली ७० प्रतिशत साँघुरिएको देखाएको थियो, जसका कारण स्ट्रोक भएको थियो । तर केएमसीमा आएपछि गरिएको एन्जियोग्राफीले अवस्था झन् जटिल भइसकेको तथ्य उजागर गर्यो । परीक्षणमा ती नसा ९९ प्रतिशतसम्म साँघुरिसकेको पाइयो ।

एक महिनाको अवधिमै ७० प्रतिशतबाट ९९ प्रतिशतसम्म पुगेको अवरोधले जोखिम धेरै नै बढेको स्पष्ट थियो । डा. पौडेल भन्छन्, ‘थप केही समय ढिलो भएको भए नसा पूर्ण रूपमा बन्द हुन सक्थ्यो । त्यसपछि बिरामीले बोल्ने क्षमता गुमाउने र खुट्टा नचल्ने अवस्था आउन सक्थ्यो ।’

अस्पताल आइपुग्नेबित्तिकै डा. पौडेलको टोलीले एन्जियोग्राफी गर्यो । त्यसपछि खुट्टाबाट साना पाइप र तार प्रवेश गराएर साँघुरिएको रक्तनलीमा बेलुन एन्जियोप्लास्टी गरियो । अवरुद्ध भागमा स्टेन्ट राखिएपछि रक्तप्रवाह पुनः सहज रूपमा सञ्चालन हुन थाल्यो । उपचार सफल भएपछि मण्डललाई अर्को दिन नै घर पठाइयो ।

डा. पौडेलका अनुसार खराब बोसोका कारण रक्तनली साँघुरिँदै गएको थियो । त्यही कारणले उनी बारम्बार पक्षघातको सिकार बनेका थिए । स्टेन्ट राखिएपछि रक्तनली खुल्यो र मस्तिष्कमा आवश्यक रक्तप्रवाह पुनः सुचारु भयो । हालै सञ्चालनमा आएको केएमसी दुवाकोटले यस्तो जटिल मस्तिष्कघात सम्बन्धी रोगको पहिलो सफल उपचार गर्दै अर्को उपलब्धि हासिल गरेको छ ।

बुबाको सफल उपचारपछि छोरा सत्यनारायणको अनुहारमा अहिले राहत र खुसी दुवै फर्किकको छ । ‘सुरुमा त के हुने हो, कस्तो हुने हो भन्ने ठूलो चिन्ता थियो । तर अहिले सोचेजसभन्दा धेरै राम्रो भएको छ । अस्पतालको सेवा र डाक्टरहरूले गरेको उपचारबाट हामी अत्यन्त सन्तुष्ट छौं’, उनले भने ।

बुबा अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा उनले उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति मुक्त कण्ठले आभार व्यक्त गरे । अहिले राजारामको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ र उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

आफ्नो अनुभव सुनाउँदै सत्यनारायण अरूलाई पनि सल्लाह दिन्छन्, ‘यहाँको उपचार सेवा निकै राम्रो रहेछ । कुनै स्वास्थ्य समस्या देखिए समयमै विशेषज्ञकहाँ पुगेर उपचार गराउनुपर्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!