
धनकुटा । धनकुटामा जारी १८ औं संस्करणकाे सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा सातदोवाटो युथ क्लब ललितपुरलाई हराउँदै बेलबारी फुुटबल क्लब मोरङ सेमिफाइनलमा प्रवेश गरेकाे छ ।
धनकुटाको तल्लो टुँडिखेलमा आज भएकाे खेलमा सातदाेबाटाेलाई ०-१ गोल अन्तरले हराउँदै बेलबारी सेमिफाइनलमा पुगेकाे हाे ।
खेलको ८० औं मिनेटमा बाबा टुण्डेले गरेकाे गोल नै बेलबारीका लागि निर्णायक बन्याे । सातदोबाटाेले बारम्बार माैका पाएपनि गाेल फर्काउन सकेन ।
खेलको प्लेयर अफ द म्याच बेलबारीका बाबा टुण्डे घोषित भए । उनले ६ हजार रुपैयाँ नगदसहित मेडल प्राप्त गरे ।
भोलि आयोजक टिम र सहलेश फुटबल क्लब सिराहाबीच प्रतिस्पर्धा हुनेछ । खेल जेठ १६ गतेसम्म सञ्चालन हुनेछ । विं.स. २०५५ सालदेखि सुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ देखि नियमित सञ्चालन हुँदै आएको छ ।
पहिलो वर्ष तत्कालिन कोशी अञ्चल र दोस्रो वर्ष तत्कालिन पुर्वाञ्चल विकास क्षेत्रका टिमले प्रतियाेगितामा सहभागिता जनाएका थिए । तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको अभियोगमा वि.सं. २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन गरिँदै आएको छ । श्रेष्ठलाई सरकारले ०७४ सालमा सहिद घोषणा गरेको थियो ।


सन्तोष सुवेदी/संगालोखबर 
















