संगालोखबर

विराटनगर । विवाहपछि हरेक दम्पतीको सबैभन्दा ठूलो सपना आफ्ना सन्तानको मुस्कान हेर्ने हुन्छ । तर सबैको जीवनमा यो यात्रा सहज हुँदैन । विभिन्न कारणले धेरै दम्पतीहरू प्राकृतिक रूपमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थाबाट गुज्रिरहेका हुन्छन् । यस्तो परिस्थितिमा आधुनिक चिकित्सा विज्ञानले दिएको महत्वपूर्ण विकल्प ‘आईभीएफ प्रविधि’ हो ।

Advertisement

आईभीएफको पूरा रूप इन भिट्रो फर्टिलाइजेसन हो । सामान्य भाषामा भन्नुपर्दा, महिलाको अण्डा र पुरुषको शुक्रकीटलाई शरीरबाहिर प्रयोगशालामा मिलाएर भ्रुण तयार गरिन्छ र त्यसपछि महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यही प्रक्रियालाई आईभीएफ भनिन्छ ।

नेपाली काँग्रेसका युवानेता डा. सुनील शर्माले विराटनगरमा सञ्चालन गरेको नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले आईभीएफ सेवा सुरु गरेको छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गर्दै धेरै निसन्तान दम्पतीहरूको जीवनमा खुशीको बहार ल्याएको छ ।

उच्च प्रविधि र विशेषज्ञ डाक्टरहरूको साथमा नोबेल अस्पतालमा २०७८ साल पुसमा आईभीएफ सेन्टर सञ्चालनमा ल्याइएको हो । सेवा सुरु भएको करिब पाँच वर्षको अवधिमा अस्पतालमा चार सय २२ दम्पतीले यो सेवा लिइसकेका छन् ।

बाहिरबाट हेर्दा यो संख्या त्यति ठूलो नदेखिए पनि यसको भित्री अर्थ अत्यन्त गहिरो र मार्मिक छ । प्रत्येक परीक्षणमा कुनै न कुनै दम्पतीको वर्षाैँदेखिको चाहना, निद्रा नलागेका रातहरू, उपचारका दौडधुप र मनभित्र दबिएका पीडा जोडिएका छन् ।

चार सय २२ परीक्षणमध्ये तीन सय ४० मा भ्रुण स्थानान्तरण गरिएको छ । प्रयोगशालाको सूक्ष्म संसारमा तयार भएको जीवनको सानो बीजलाई आमाको गर्भमा राख्ने त्यो क्षण विज्ञान र आशाबीचको अत्यन्त संवेदनशील मिलन हो । त्यसपछि सुरु हुन्छ प्रतीक्षाको कठिन घडी ।

चार सय २२ मध्ये दुई सय १६ जनामा गर्भधारण सफल भएको छ । यो दर भनेको ६३ दशमलव ५२ प्रतिशत हो । तर आईभीएफको वास्तविक सफलता गर्भधारणमा मात्र सीमित हुँदैन । यसको मुख्य उपलब्धि भनेको स्वस्थ शिशु घर ल्याउन सक्नु हो । यही आधारमा हेर्दा नोबेल अस्पतालको उपलब्धि अझ महत्वपूर्ण देखिन्छ ।

यस अवधिमा एक सय चार दम्पती सफलतापूर्वक स्वस्थ शिशु घर लैजान सफल भएका छन् । यो सफलता झन्डै ५० प्रतिशत हो । यस यात्रामा अझै तीनवटा केस बिटा-एचसीजी परीक्षणको प्रतीक्षामा छन् । यो अवस्था भनेको गर्भधारण पुष्टि भएको छ कि छैन भन्ने अन्तिम परीक्षणको नतिजा पर्खिरहेको समय हो ।

नोबेल अस्पतालकी आईभीएफ प्रमुख प्राध्यापक डाक्टर शान्ति सुवेदीका अनुसार अहिले अस्पतालमा आईभीएफका विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । निःसन्तान परामर्श सेवा, शुक्राणु विश्लेषण, पुरुष प्रजनन् क्षमताको विस्तृत परीक्षण सेवा, इन्ट्रा युटेरिन इन्सेमिनेसन अर्थात शुक्रकीटलाई सीधै गर्भाशयमा राखेर गर्भधारण गराउने प्रक्रिया लगायतका सेवा उपलब्ध गराइएको छ ।

यस्तै अण्डा संकलन, अण्डाशयबाट अण्डा उत्पादन गराई सुरक्षित रूपमा संकलन गर्ने प्रक्रिया, प्रयोगशालामा अण्डा र शुक्रकीट मिलाएर भ्रुण तयार गर्ने प्रक्रिया, एकल शुक्रकीटलाई सिधै अण्डाभित्र प्रवेश गराई निषेचन गरिने उन्नत प्रविधि, भविष्यका लागि अण्डा वा भ्रुणलाई सुरक्षित रूपमा जमाएर राख्ने प्रविधि, शुक्राणु फ्रिज गर्ने सेवा, शुक्रकीटलाई लामो समयसम्म सुरक्षित रूपमा भण्डारण गर्ने प्रविधिलगायतका सेवा पनि उपलब्ध छन् ।

यति मात्रै होइन, पुरुषमा शुक्रकीट नदेखिए वा कम भएमा शल्यक्रियामार्फत शुक्रकीट निकाल्ने विशेष प्रविधि पनि नोबेल अस्पतालको आईभीएफ सेन्टरमा उपलब्ध छ । आईभीएफको उपचार गराउन एक दम्पतीलाई कम्तिमा पनि तीनदेखि चार लाख रुपैयाँ लाग्छ । तर नोबेल आफैंमा मेडिकल कलेज भएका कारण सकेसम्म कम खर्चमा सेवा दिने प्रयास भइरहेको आईभीएफ प्रमुख डा. सुवेदीले बताइन् ।

आईभीएफ सेवाका लागि नोबेलले अमेरिका, डेनमार्क र जापानबाट अत्याधुनिक उपकरणहरू ल्याएको छ । यसका साथै अस्पतालले अहिले विश्वमा भित्रिएका एकदमै नयाँ प्रविधि पनि ल्याउने तयारी गरिरहेको छ । जुन राजधानीका आईभीएफ सेन्टरहरूमा समेत उपलब्ध नभएको अस्पताललको दाबी छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!