
धनकुटा । धनकुटाको राजारानीमा सम्पन्न १३ औं रारा गोल्डकपको उपाधि बिर्तामोड युनाइटेड एफसी (झापा) ले हात पारेको छ । आज भएको फाइनल खेलमा आयोजक रारा फुटबल क्लब (राजारानी) लाई ट्राइब्रेकरका ५-४ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो ।
निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरका धकेलिएको थियो । दास्रो हाफको ३३ औं मिनेटमा आयोजक राराका मनिकुमार लामाले पेनाल्टीमार्फत गोल गरेका थिए ।
निर्धारित समयको अन्त्यमा झापाका खेलाडी प्रशान्त तक्षमले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा पुर्याएका थिए । ट्राइबेकरमा झापाका खेलाडी सञ्जय लिम्बू, दिवस उराउ, प्रशान्त तक्षम, मौसम सुब्बा र विवेक पौडेलले गोल गरे ।
त्यसैगरी आयोजक राराका मनिकुमार लामा, शिमिर लेखी, विशाल भण्डारी र किरण चेम्जोङले गोल गर्न सफल भए भने दिपेश गुरुङले प्रहार गरेको गोल झापाका अभिषेक बरालले रोकेका थिए ।
जितसँगै झापाले ७ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र हात पारेको छ भने उप-विजेता बनेको आयोजकले ३ लाख रुपैयाँमा चित्त बुझाएको छ । फाइनल खेलको म्यान अफ द म्याच झापाका प्रशान्त तक्षम घोषित भए । उनले नगद ७ हजार रुपैयाँ प्राप्त गरे ।
यस्तै उदयमान खेलाडी आयोजक टिमका लोकेन्द्र चेम्जोङ घोषित भए । त्यस्तै उत्कृष्ट गोलकिपर झापाका अभिषेक बराल, झापाका राजेश दाहाल ४ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफ भए ।
उनीहरूले नगद ११ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । यस्तै सर्वोत्कृष्ट खेलाडी राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर आयोजक टिमका खेलाडी किरण चेम्जोङ घोषित भए । उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा रारा फुटबल क्लबको आयोजनामा बैशाख १८ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित केराबारी फुटबल क्लब मोरङ, गाईघाट युनाइटेड क्लब उदयपुर, डाँडाबजार फुटबल क्लब धनकुटा, सलहेस युथ क्लब सिराहा, बिर्तामोड युनाइटेड क्लब झापा, आरआइ एफसी काठमाडौं र धरान फुटबल क्लब सुनसरीको सहभागिता थियो ।

सन्तोष सुवेदी/संगालोखबर 



















