
काठमाडौं । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता डा. सुनिल शर्माले सञ्चालन गरेको भक्तपुरको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजको युनिट-२ अस्पतालमा सुकुम्बासी प्रभावित क्षेत्रका बिरामीहरूलाई निःशुल्क उपचार गरिने भएको छ ।
अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरेर सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित भएका बिरामीहरूलाई निःशुल्क उपचार गरिने जानकारी दिएको हो । सरकारले काठमाडौँ उपत्यकाका नदी किनार तथा देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती खाली गराउने अभियान चलाइरहेको छ । यही क्रममा ठूलो संख्यामा सुकुम्बासीहरू घरबारविहीन भएर समस्यामा परिरहेका बेला डा.शर्माको अस्पतालले प्रभावितहरूलाई स्वास्थ्य उपचारमा सहयोग गर्न लागेको हो ।
मानवीय संवेदनालाई मध्यनजर गर्दै प्रभावित बिरामीहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिएका छन् । उनका अनुसार औषधि तथा औषधिजन्य सामग्रीबाहेक सम्पूर्ण उपचार सेवा निःशुल्क प्रदान गरिनेछ ।
मेडिकल व्यवसायसँगै समाजसेवा गर्दै राजनीति क्षेत्रमा अघि बढेका डा.शर्माले समस्यामा परेकाहरूलाई सहयोग गर्दै आएका छन् ।

संगालोखबर 




















