
धनगढी । कैलालीमा सशस्त्र प्रहरीका प्रशिक्षार्थी जवानको मृत्यु भएको छ । सशस्त्र प्रहरीको बडिमालिका जवान तालिम शिक्षालय बनबेहडामा तालिम गरिरहेका सशस्त्र प्रशिक्षार्थी जवान महेश महताको मृत्यु भएको हो ।
बडिमालिका जवान तालिम शिक्षालयका अनुसार आइतबार राति साढे १ बजेतिर टाउको र छाती दुख्न थालेपछी महतालाई उपचारका लागि सशस्त्रको फिल्ड हस्पिटल अत्तरिया लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै अत्तरिया अस्पताल लगिएकोमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
उपचारकै क्रममा बिहान साढे ४ बजे उनी बेहोस् भएको सशस्त्र प्रहरीको बडिमालिका शिक्षालयले जनाएको छ । चिकित्सकले सवा ५ बजेतिर महतालाई मृत घोषणा गरेका थिए ।
दार्चुलाको नौगाड गाउँपालिका-१ घर भएका उनी फागुनदेखि सशस्त्र प्रहरीको बडिमालिका तालिम शिक्षालयमा प्रशिक्षार्थी जावनका रूपमा तालिम गरिरहेका थिए । उनी एक्कासि बिरामी परेका सशस्त्र प्रहरीले जनाएको छ ।

संगालोखबर 




















