
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले चिकित्सक तथा नर्सिङ कर्मचारीमाथि बिरामीका आफन्तले अभद्र व्यवहार गरेको भन्दै घटनाप्रति खेद प्रकट गरेको छ ।
वैशाख १८ गते साँझ नोवेल अस्पतालमा डिउटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई गालीगलौज गरिएको र उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा फैलाएर चरित्र हत्या गर्ने प्रयास गरिएको भन्दै अस्पताल प्रशासनले आज विज्ञप्ति जारी गरेर खेद प्रकट गरेको हो ।
उपचारका क्रममा कुनै गुनासो वा जिज्ञासा भए सम्बन्धित निकायमा राख्ने वा कानुनी उपचार खोज्ने अधिकार सबैमा सुरक्षित भएपनि अहोरात्र सेवामा खटिएका कर्मचारीमाथि जाइलाग्नु निन्दनीय भएको विज्ञप्तिमा उल्लेख छ ।
यस्ता गैरकानुनी गतिविधि गर्नेहरूलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र प्रचलित कानुन बमोजिम तत्काल कारबाहीको दायरामा ल्याउन पनि अस्पतालले माग गरेको छ ।
साथै, स्वास्थ्यकर्मीहरूले निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण सुनिश्चित गरिदिन पनि नोबेल अस्पताल प्रशासनले सम्बन्धित सबै पक्ष र निकायहरूसँग अपिल गरेको छ ।


संगालोखबर 




















