
धनकुटा । धनकुटा नगरपालिका-२ भिरगाउँका राजु घिमिरे एक दशकदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । डेरी उद्योगबाट राम्रो आम्दानी गरिरहेका घिमिरेले स्थानीयलाई रोजगारी पनि दिएका छन् । डेरीमा उत्पादन हुने दुग्धजन्य उत्पादनको माग बढेसँगै आम्दानी पनि बढेको छ ।
उनले भिरगाउँमा डेरी उद्योग सञ्चालन गरको दशवर्ष बढी भयो । हिले बजारमा पनि उनले ३ वर्षदेखि डेरी उद्योग सञ्चालन गरिरहेका छन् । सिंहदेवी डेरी उद्योगका सञ्चालक घिमिरेले अहिले ७ जनालाई प्रत्यक्ष रोजगारी दिएका छन् ।
डेरीमा छुर्पी, दही, मही, घ्यू, नौनी, पनिर लगायत उत्पादन हुने गरेको सञ्चालक घिमिरेले बताए । उनका अनुसार डेरीमा उत्पादन भएको ८० प्रतिशत दुग्धजन्य बस्तु स्थानीय बजारमै खपत हुने गरेको छ । बाँकी २० प्रतिशत छिमेकी जिल्ला तेह्रथुम, भोजपुर, सुनसरी र संखुवासभासम्म बिक्रीका लागि लैजाने गरिएको उनले बताए ।
डेरीमा उत्पादन भएको छुर्पी प्रतिकिलो १ हजार १ सय, दही प्रतिलिटर १ सय रुपैयाँ, मही प्रतिलिटर ७० रुपैयाँ, घ्यू प्रतिकिलो १ हजार ५० रुपैयाँ, नौनी प्रतिकिलो ७ सय ५० रुपैयाँ र पनिर प्रतिकिलो ७ सय ५० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
गर्मी बढेसँगै दही र महीको माग ह्वात्तै बढेको उनले सुनाए । छुर्पीको माग पनि धेरै रहेको उनको भनाइ छ । उनको उद्योगमा किसानहरूबाट दैनिक ८ सय लिटर दुध आउने गरेको छ । माग बढेको खण्डमा संस्थाहरूसँग थप दुध खरिद गर्छन् ।
घ्यू र छुर्पीको माग बढेपछि गाउँमा उद्योग स्थापनासँगै रोजगारी पाउने युवाको संख्या बढ्न थालेको छ । हिमाली जिल्ला तथा पहाडको माथिल्लो भू-भागमा छुर्पीको व्यवसायीक उत्पादन हुँदै आएकोमा केही वर्ष अघिबाट धनकुटामा पनि यसको सुरुवात भएको हो । डेरी उद्योग सञ्चालनको लहरसँगै धेरैले राम्रो आम्दानी गरिरहेका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 























