
धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले अब घरमै राहदानी पठाइदिने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय आएर लिनुपर्ने राहदानी अब हुलाकमार्फत घरमै पठाइने भएको हो ।
यसका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीच शुक्रबार सहमतिपत्रमा हस्ताक्षर भएको छ । सरकारले सेवाग्राहीको सहजतालाई ध्यान दिदै घरमै राहदानी पुर्याउने योजना बनाएपछि धनकुटामा पनि यसलाई कार्यान्वयन गर्न लागिएको हो । सरकारी सेवालाई सहज, पहुँचयोग्य र छरितो बनाउने उद्देश्यले घरमै राहदानी पठाउने व्यवस्था मिलाइएको धनकुटाका प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए ।
राहदानी घरमै प्राप्त गर्न सेवाग्राहीले आवेदन दिने क्रममै थप विवरणसहितको अर्को फारम भर्नुपर्ने प्रशासन कार्यालयले जनाएको छ । फारममा सेवाग्राहीको पूर्ण ठेगाना, घर पहिचानका आधार, सम्पर्क नम्बर लगायत उल्लेख गर्नुपर्नेछ ।
धनकुटाका ६० वटै वडावासीले यो सेवा पाउनेछन् । सेवा सुरु भएपछि राहदानी लिनका लागि जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने वाध्यता हट्नेछ ।

सन्तोष सुवेदी/संगालोखबर 























