
धनकुटा । धनकुटाको ग्रामीण भेगमा अहिलेपनि पानी र चुदारोबाट ठेकी लगायत काठका अन्य सामग्री बनाएर परम्परागत सीपको जगेर्ना भइरहेको छ । आधुनिक प्रविधिको विकास भएपनि परम्परागत सीप र प्रविधिको जगेर्ना गर्न स्थानीय लागि परेका हुन् ।
धनकुटाको महालक्ष्मी नगरपालिका-४ का दीर्घबहादुर पौडेल बर्षमा करिब एक सय बढी काठबाट ठेकी बनाउँदै आएका छन् । खेतीपातीको सिजन अर्थात बर्खाको समयमा अन्य काम गर्नुपर्ने भएकाले हिउँदका केही महिना मात्रै ठेकी बनाउने गरेको उनले बताए । पौडेलले २ देखि ३८ कुरुवासम्म अट्ने ठेकी बनाउने गरेको सुनाए ।
ठेकीसँगै तोङ्बा खाने भाँडो र हर्पे लगायतका सामग्री समेत बनाउने गरेको उनले बताए । छन् । ठेकी निर्माणमा अहिले पनि पानी र चुदारोको प्रयोगले स्थानीय संस्कृति र परम्परालाई जीवन्त राखेको उनले बताए ।

आधुनिक प्रविधि र बिद्युतबाट चल्ने मेसिनको प्रयोग बढ्दै गएपनि परम्परागत तरिकाले बनाइने ठेकीको माग बजारमा उच्च रहेको छ । ठेकी प्रति कुरुवा तीन सय रुपैयाँका दरले बिक्री हुने गरेको छ ।
सानो २ कुरुवा अट्ने ठेकी ६ सय र ३८ कुरुवा अट्ने ठेकी करिब ११ हजार ४ सय रुपैयाँ सम्ममा बिक्रि हुँदै आएको उनले बताए । यही पेसाबाट वार्षिक करिब ६ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको पौडेलले सुनाए ।
बिजुलीबाट बनाइने ठेकीभन्दा परम्परागत ठेकी प्रति कुरुवा करिब एक सय रुपैयाँ सस्तो पर्ने गरेको छ । जसले गर्दा परम्परागत रूपमा चुदारोको प्रयोग गरेर बनाइएको ठेकीको माग बढी रहेको उनको भनाइ छ ।

नजिकैको खोलाबाट ल्याइएको पानीलाई करिब पाँच मिटर माथिबाट झारेर साचो घुमाइन्छ । त्यसपछि सो साचोमा काठ राखेर चुदारोको सहायताले काँचो काठलाई बिस्तारै आकार दिइन्छ ।
यसरी तयार गरिने ठेकीमा कालिगढको सीप र कलात्मकता देखिन्छ । ठेकी बनाउन मुख्यतः दार र कटहरको काठ उपयुक्त मानिन्छ । दार र कटहरको काठबाट बनाइएको ठेकीको दही र मोही मिठो हुने बताइन्छ । तर पछिल्लो समय काठ र चुदारोको अभावका कारण यो परम्परा हराउँदै जाने चिन्ता बढेको उनले बताए ।

गाउँमा बिजुली पुगे पनि ठेकी निर्माणमा पुरानै विधि अपनाइँदै आएको महालक्ष्मी नगरपालिका-४ का वडाध्यक्ष शुक्रराज बुढाथोकीले जानकारी दिए । उनका अनुसार पानी र चुदारोको प्रयोग गरेर ठेकी बनाउने मात्र नभएर कुटानीपिसानीको मिल समेत सञ्चालनमा छ । गाउँमा केही समयअघि विद्युतबाट चल्ने ठेकी बनाउने मेसिन आएको भएपनि दीर्घकालीन सञ्चालन नभएको उनले बताए ।
पानी र चुदारोको प्रयोगबाट उत्पादन हुने सामग्री सस्तो पर्ने मात्र नभई वातावरणमैत्री र दिगो पनि हुने वडाध्यक्ष बुढाथोकीले सुनाए । साथै यसले स्थानीय सीप, परम्परा र पहिचानलाई संरक्षण गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

परम्परागत सीपलाई आधुनिक प्रविधिसँग समन्वय गर्दै संरक्षण र प्रवर्द्धन गर्न नगरपालिकाले काम गरिरहेको छ । यस्ता परम्परागत सीपले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै सांस्कृतिक सम्पदाको जगेर्ना गर्न अझ योगदान पुर्याएको उनले बताए ।

सन्तोष सुवेदी/संगालोखबर 























