
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा १ अर्ब बढीको लगानीमा ‘एलेक्सा लाइफसाइन्सेज’ नामक सलाइन उत्पादन उद्योग सञ्चालनमा आएको छ । उद्योगीद्वय दिनेश ठाकुर र रञ्जित भगतले पाँच वर्षको निरन्तर अध्ययन र योजनापछि उद्योग सञ्चालनमा ल्याएका हुन् ।
शुक्रबार वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले उद्योगको उद्घाटन गरे । अन्तर्राष्ट्रिय मापदण्डको यस उद्योगले स्वदेशमै सलाइन उत्पादन गरी स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर बन्ने उद्देश्यले केही समय अघिदेखि नै आफ्ना उत्पादन बजारमा ल्याउन थालिसकेको छ ।
जर्मन प्रविधिको अत्याधुनिक मेसिन प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार औषधि उत्पादन सुरु गरिएको सञ्चालकहरूले दाबी गरेका छन् । उद्घाटन समारोहमा बोल्दै डा. भगवान कोइरालाले स्वदेशमै औषधि उत्पादन हुनु राष्ट्रका लागि गौरवको विषय भएको बताए ।
उद्योगले हाल पहिलो चरणमा ‘लार्ज भोल्युम प्यारेन्टरल्स’ अन्तर्गत १०० एमएलदेखि ३ हजार एमएलसम्मको सलाइन उत्पादन गरिरहेको छ । दोस्रो चरणमा १ देखि २० एमएलसम्मको ‘स्मल भोल्युम प्यारेन्टरल्स’ र तेस्रो चरणमा आँखा तथा कानमा हाल्ने औषधीहरू उत्पादन गर्ने योजना रहेको निर्देशक दिनेश ठाकुरले जानकारी दिए ।
उनले सरकारले नीतिगत सुधार र आवश्यक सहुलियत नदिए स्वदेशी उद्योगहरू धराशायी हुनसक्ने तर्फ ध्यानाकर्षण गराए । यस उद्योगले हाल १५० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ ।
दक्ष जनशक्ति र अत्याधुनिक व्यवस्थापन प्रणाली अपनाएको उद्योगले दीर्घकालमा विदेशमा समेत औषधि निर्यात गर्ने योजना बनाएको छ । सलाइन उत्पादनमा पूर्ण रूपमा स्वदेशी लगानी र उत्पादन गर्ने यो नेपालकै अग्रणी कम्पनी हुने दाबी गरिएको छ ।

संगालोखबर 























