
काठमाडौं । आर्थिक रूपमा अति विपन्न नागरिकहरूलाई लक्षित गर्दै काठमाडौं मेडिकल कलेज (केएमसी) दुवाकोट भक्तपुरले विशेष स्वास्थ्य सेवा प्याकेजको घोषणा गरेको छ ।
पूर्व प्रतिनिधिसभा सदस्य डा. सुनिल कुमार शर्माको पहलमा सुरु गरिएको यस कार्यक्रम अन्तर्गत देशका विभिन्न दुर्गम जिल्लाका आर्थिक अवस्था कमजोर भएका बिरामीहरूले पूर्ण वा आंशिक छुटमा उपचार सेवा पाउने भएका हुन् ।
डा. शर्माले जारी गरेको सूचना अनुसार मोरङ जिल्ला सहित कर्णाली प्रदेशका हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालीकोट, रोल्पा, रुकुम, सल्यान तथा कोशी प्रदेशका सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र ताप्लेजुङ लगायतका जिल्लाका विपन्न नागरिकलाई यो सुविधामा प्राथमिकता दिइनेछ ।
यसैगरी बागमती र गण्डकी प्रदेशका दोलखा, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र गोरखा जिल्लाका विपन्न बिरामीहरूले पनि केएमसीको सुपरस्पेसियालिटी अस्पताल दुवाकोटबाट यो सेवा लिन सक्नेछन् ।
सुविधा प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो स्थानीय तहको पालिका वा वडा कार्यालयबाट अनुसूची-२ बमोजिमको सिफारिस फाराम र अन्य आवश्यक कागजात पेश गर्नुपर्ने प्रावधान राखिएको छ । बिरामीको आर्थिक अवस्थाको उचित मूल्याङ्कन गरी अस्पतालले उपचारमा लाग्ने खर्चमा सहुलियत प्रदान गर्नेछ ।
आर्थिक अभावकै कारण कोही पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने पवित्र उद्देश्यका साथ यो पहल सुरु गरिएको डा. शर्माले बताए । पहिलो चरणमा निश्चित जिल्लाहरूबाट सुरु गरिएको यो कार्यक्रमलाई आगामी दिनमा थप विस्तार गर्दै लैजाने उनको योजना छ ।
जनसेवामा समर्पित डा. शर्माले सांसद पदमा रहँदा समेत सरकारी तलब-भत्ता लिएका थिएनन् । उनले देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, गम्भीर बिरामीको उपचारमा व्यक्तिगत सहयोग गर्ने र एम्बुलेन्स हस्तान्तरण गर्ने जस्ता मानवीय कार्यहरू गर्दै आएका छन् ।
उपचार सेवाबारे थप बुझ्न चाहनेहरूका लागि अस्पतालले ९८०२३३५११२ र ९८०२३३५१०८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

संगालोखबर 























