
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका स्थित पाख्रीबास-सान्ने सडक स्तरोन्नतिको काममा खटिएका मजदुरहरूले पारिश्रमिक नपाएको गुनासो गरेका छन् । कामगरे बापतको पारिश्रमिक नपाउँदा आफूहरू समस्यामा परेको मजदुरहरूले गुनासो गरेका हुन् ।
सडकको ग्राभेल, मेसिनरी बाल जस्ता संरचना बनाउने काम सम्पन्न भएको छ । प्रदेश र नगरको साझेदारीमा १ करोड ३० लाखमा सडक स्तरोन्नतिको ठेक्का लागेर काम सम्पन्न भएको करिब एकवर्ष बितिसम्दा समेत कामदारले पारिश्रमिक नपाएका हुन् ।
आर्थिक वर्ष २०८०/०८१ को विनियोजित बजेटबाट सडक स्तरोन्नतिको काम गर्ने ठेक्का कौशिकी निर्माण सेवा प्रालिले पाएको थियो । मुख्य ठेकेदार सिताराम भट्टराई र पेटी ठेकेदार उत्तम कटुवालले सयौं कामदारको लाखौ पैसा नदिएको कामदार कपेन्द्र मगरले बताए ।
बारम्बार सम्पर्क गर्दा समेत ठेकेदार सम्पर्कमा नआएको उनको भनाइ छ । ठेकेदारले पारिश्रमिक नदिदाँ आफूलगायत एक सय भन्दा बढीले समस्या भोग्नुपरेको उनको गुनासो छ ।
ज्याला दिनुको सट्टा उल्टै एउटाले अर्को ठेकेदारलाई देखाउने गरेको उनीहरूको भनाइ छ । दैनिक मजदुरी गरेर जीविकोर्पाजन गर्नुपर्ने बाध्यताका बीच पारिश्रमिक नपाउँदा समस्या भएको उनीहरूको भनाइ छ ।
भुक्तानीका लागि सम्बन्धित निकायमा जाँदा ठेकेदारलाई लिएर आउनु भनेर फर्काइदिने गरेको श्रमिकहरूले बताएका छन् ।

सन्तोष सुवेदी/संगालोखबर 























