
विराटनगर । काठमाडौं मेडिकल कलेजकी अध्यक्ष सोईना शर्माले सरकारबाट समयमै भुक्तानी नआउँदा निजी अस्पतालहरू गम्भीर आर्थिक दबाबमा परेको बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले नेपाल सरकारअन्तर्गत सञ्चालित बीमा तथा विपन्न कार्यक्रमबाट नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले मात्रै करिब सय करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको जानकारी दिएकी हुन् ।
उनका अनुसार बीमा कार्यक्रमअन्तर्गत मात्रै दैनिक करिब ८ सय ओपीडी तथा २ सय बढी आइपीडी बिरामीलाई सेवा प्रदान गरिँदै आएको छ । यस्तो अवस्थामा सरकारबाट भुक्तानी नआउँदा अस्पतालको सेवा प्रवाह नै प्रभावित हुने जोखिम बढेको उनले उल्लेख गरेकी छन् ।
शर्माले अस्पतालमा प्रयोग हुने औषधि, कन्जुमेबल तथा अन्य सामग्री सरकारको गोदामबाट उपलब्ध नहुने र बजारबाट खरिद गर्नुपर्ने भएकाले समयमै भुक्तानी नहुँदा आर्थिक व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न हुने बताइन् ।
‘भुक्तानी रोक्ने पनि सरकार, सेवा नरोक भन्ने पनि सरकार, अनि दोष चाहिँ अस्पताललाई । यस्तो दोहोरो चरित्रले स्वास्थ्य सेवा मात्रै होइन, सिंगो स्वास्थ्य प्रणाली नै प्रभावित हुन्छ’, उनले लेखेकी छन् ।
सम्झौताअनुसार सेवा प्रदायक संस्थाले सेवा दिने र सरकार तथा बीमा बोर्डले समयमै भुक्तानी गर्ने दायित्व स्पष्ट रूपमा उल्लेख रहेको स्मरण गराउँदै उनले भुक्तानी प्रक्रिया तत्काल व्यवस्थित गर्न सरकारसँग आग्रह गरेकी हुन् ।
निजी अस्पतालहरूले सरकारको कार्यक्रम सफल बनाउन निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै उनले अब सरकारले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने समय आएको बताइन् ।

संगालोखबर 























